काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मन्त्रालयमा आज बसेको वरिष्ठ व्यवस्थापन टोली (एसएमटी) को बैठकमा मन्त्री चौधरीले उखु उत्पादन अनुदानसम्बन्धी भुक्तानी कार्यविधि स्वीकृत भइसकेकाले किसानले दसैँअघि नै अनुदान रकम पाउने सुनिश्चित गर्न निर्देशन दिएकी हुन् । उखु उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदान वितरणसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भइसकेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि उखु किसानलाई अनुदान उपलब्ध गराउन एक अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको जनाइएको छ ।
किसानले उत्पादन गरेको उखुको अनुदान समयमै प्राप्त गर्नुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा कुनै पनि प्रकारको ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । दसैँअघि नै अनुदान रकम किसानको हातमा पुर्याउने गरी आवश्यक प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा उनले जोड दिएकी हुन्।
प्रतिक्रिया