स्वास्थ्य मन्त्री प्रदीप पौडेलले विदेशस्थित नेपाली चिकित्सकहरूसँग आगामी फेब्रुअरी २ तारिखमा एक वर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन्।
जय नेपाल फाउण्डेशन, बेलायतको आयोजनामा हुने यस अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले सम्बोधन गर्नेछन्। फाउण्डेशनका अध्यक्ष यादव पण्डितका अनुसार, कार्यक्रमले नेपालमा स्वास्थ्य सेवामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
कार्यक्रममा बेलायतका प्रमुख चिकित्सक र स्वास्थ्य क्षेत्रका विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। बेलायतका प्रोफेसर सत्यान राजभण्डारी, जय नेपाल फाउण्डेशनका अध्यक्ष डा. सम्पूर्णानन्द ढुङ्गाना र नर्सिङ एसोसिएसन युकेका अध्यक्ष रस्मिता दर्लामीले स्वास्थ्य सेवामा सुधारका उपायहरूको बारेमा प्रस्तुत गर्नेछन्।
अमेरिकाका वरिष्ठ चिकित्सक डा. केशव पौडेल र बेलायतका डा. बच्चु कैलाश कैनीले कार्यक्रममा टिप्पणी गर्नेछन्। जय नेपाल फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष डा. यादव पण्डितले उक्त कार्यक्रमको अध्यक्षता गर्नेछन्।
पण्डितले भने, “बेलायतको स्वास्थ्य नीतिलाई लिएर नेपालमा सुधार गर्ने प्रयास यो कार्यक्रमको प्रमुख उद्देश्य हो। यस कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनको लागि एक कोशेढुङ्गा साबित हुनेछ।”
कार्यक्रमको प्रमुख उद्देश्य वेलायतको स्वास्थ्य क्षेत्रबाट नेपालमा सुधारका लागि मार्गदर्शन प्राप्त गर्नु हुनेछ।
प्रतिक्रिया