एमाले राष्ट्रिय कार्यकर्ता भेलाबाट २१ बुँदे विशेष प्रस्ताव पारित, निर्वाचन तयारीदेखि आन्दोलनसम्मका निर्णय

  नेपाली सन्देश डट कम | ४ मंसिर २०८३, बिहीबार १८:४७

काठमाडौं । नेकपा (एमाले) को दुईदिने राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको पुनर्बहाली, राष्ट्रिय स्वाधीनताको रक्षा, पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा आगामी निर्वाचनको तयारीलगायत विषय समेटिएको २१ बुँदे समसामयिक विशेष प्रस्ताव र सङ्कल्प पारित गरेको छ।

भेलाले आगामी स्थानीय तह, प्रदेश तथा राष्ट्रियसभा निर्वाचनको पूर्वतयारीमा जुट्ने निर्णय गर्नुका साथै आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनमा उत्रिने सङ्कल्पसमेत गरेको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ आयोजित भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। भेलामा देशका विभिन्न जिल्ला तथा प्रवासबाट गरी ३ हजार ४१४ प्रतिनिधिको सहभागिता रहेको थियो।

भेलाले वर्तमान सरकारका कामकारबाही, लोकतन्त्र र संविधानको अवस्था, राष्ट्रिय स्वाधीनता, जनजीविका, प्राकृतिक विपद् व्यवस्थापन, सडक सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

भदौ २३ र २४ गतेका घटनाको न्यायिक छानबिन गर्न माग

एमालेले २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। घटनामा संलग्न दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने प्रस्तावसमेत पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

पारित प्रस्तावमा संविधान, सङ्घीयता र संवैधानिक संस्थाहरूको संरक्षणमा जोड दिइएको छ। प्रदेश संरचना खारेज गर्ने प्रयास, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राज्यका संस्थाहरूलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्ने प्रवृत्तिप्रति भेलाले आपत्ति जनाएको छ।

महँगी नियन्त्रण र जनजीविकाका समस्या समाधान गर्न आग्रह

भेलाले बढ्दो महँगी नियन्त्रण, घरायसी प्रयोजनको विद्युत्मा लगाइएको कर फिर्ता, सुकुम्बासी समस्याको उचित व्यवस्थापन तथा निजी क्षेत्र र व्यवसायीका लागि अनुकूल वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

त्यस्तै, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएका तोडफोड र आगजनीका घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरिएको छ।

राष्ट्रिय स्वाधीनता र परराष्ट्र सम्बन्धमा स्पष्ट धारणा राख्न माग

राष्ट्रिय स्वाधीनता र परराष्ट्र सम्बन्धका विषयमा भेलाले छिमेकी मुलुकहरूसँगको सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र आपसी सम्मानका आधारमा अघि बढ्नुपर्ने उल्लेख गरेको छ।

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका सन्दर्भमा सीमा समस्या, असमान सन्धि–सम्झौता, प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन, व्यापार घाटा, हवाई प्रवेश बिन्दु तथा लामो समयदेखि रोकिएका विकास परियोजनाका विषयमा स्पष्ट धारणा राख्न सरकारलाई आग्रह गरिएको छ।

बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणमा जोड

भेलाले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल पुनःस्थापना, पुनर्निर्माण तथा राहत वितरणलाई प्रभावकारी बनाउन माग गरेको छ।

विशेषगरी बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

बाढीबाट क्षतिग्रस्त पुल तथा सडकको मर्मतसम्भार गरी यातायात सम्पर्कविच्छेद भएका बस्तीलाई पुनः जोड्न र वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित बस्ती पुनर्निर्माण गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका प्राकृतिक विपत्तिलाई अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायको मुद्दाका रूपमा उठाउनुपर्ने र यस विषयमा नेपालको कूटनीतिक भूमिका प्रभावकारी बनाउनुपर्नेमा भेलाले जोड दिएको छ।

सडक दुर्घटना न्यूनीकरण गर्न सरकारलाई आग्रह

बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै भेलाले सडक पूर्वाधारको स्तरोन्नति, सवारीसाधनको गुणस्तर परीक्षण तथा चालकको सीप र अनुशासन कायम गर्न आवश्यक कदम चाल्न माग गरेको छ।

राष्ट्रिय हितका पक्षधर शक्तिसँग सहकार्य गर्ने आह्वान

भेलाले राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षाका लागि सबै देशभक्त, लोकतन्त्र तथा संविधान पक्षधर राजनीतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग संवाद र सहकार्य गर्न आह्वान गरेको छ।

राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्दै जनदबाब सिर्जना गर्नसमेत भेलाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

त्यस्तै, प्रवासी नेपालीका मताधिकार, नागरिकता, लगानी, रोजगारी तथा सामाजिक सुरक्षासम्बन्धी सरोकार सम्बोधन गर्नुपर्ने प्रस्ताव पारित गरिएको छ। खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकको सुरक्षा सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।

पार्टी शुद्धीकरण र सङ्गठनात्मक सुदृढीकरणलाई प्राथमिकता

भेलाले पार्टीको आन्तरिक जीवनमा सुधार, शुद्धीकरण र सुदृढीकरणलाई विशेष प्राथमिकता दिएको छ। पार्टीलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने, विगतका कमजोरी सच्याउने तथा उच्च मनोबलका साथ जनतामाझ जाने प्रतिबद्धता व्यक्त गरिएको छ।

युवा पुस्तासँग संवाद र सहकार्य बढाउने, उनीहरूको मनोविज्ञान, चाहना र सरोकार बुझ्ने तथा पार्टी र आन्दोलनमा उनीहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने प्रस्तावमा उल्लेख छ।

पार्टीका नेता तथा कार्यकर्तामा देखिएका विलासी जीवनशैली, जनताबाट टाढिने प्रवृत्ति, आर्थिक तथा आचरणगत विचलन र भ्रष्टाचारप्रति निर्मम बन्ने सङ्कल्प पनि भेलाले गरेको छ।

त्यसैगरी, जिम्मेवारीअनुसार जवाफदेही हुने, पार्टी विधान, नियमावली र आचारसंहिताको पूर्ण पालना गर्ने तथा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टीका अधिवेशन र बैठकमा स्वस्थ बहस तथा लोकतान्त्रिक विधिलाई सम्मान गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।

आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि निश्चित विधि अपनाइने

आगामी स्थानीय, प्रदेश तथा राष्ट्रियसभा निर्वाचनमा जनता र कार्यकर्ताको भावना तथा पार्टीले निर्धारण गरेको विधिअनुसार उम्मेदवार छनोट गर्ने निर्णय भेलाले गरेको छ। पार्टीबाट निर्णय भएका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ। निर्वाचनको पूर्वतयारीलाई तीव्र बनाउँदै पार्टीको सङ्गठनलाई जनतामाझ थप सक्रिय बनाउने भेलाको निष्कर्ष छ।

शीर्ष नेताहरूबाट विभिन्न विषयमा सम्बोधन

भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा सम्बोधन गरेका थिए।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौँ’ विषयमा आफ्नो धारणा राखेकी थिइन्।

उपाध्यक्ष रामबहादुर थापाले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गरौँ’ विषयमा सम्बोधन गरेका थिए भने उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्त्वपूर्ण कार्य प्रस्तुत गरेका थिए।

महासचिव शङ्कर पोखरेलले पार्टीको शुद्धीकरण, सङ्गठनात्मक सुदृढीकरण तथा आगामी स्थानीय निर्वाचनको तयारीका विषयमा प्रशिक्षणमूलक सम्बोधन गरेका थिए।

समग्रमा, राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीको आन्तरिक एकता र सङ्गठनात्मक सुधारसँगै राष्ट्रिय राजनीति, लोकतन्त्र, संविधान, जनजीविका र आगामी निर्वाचनलाई केन्द्रमा राखेर एमालेको आगामी राजनीतिक कार्यदिशा तय गरेको छ।

प्रतिक्रिया

Selected poll is not defined.