पपुलिस्ट शक्तिको एकाधिकारविरुद्ध लोकतान्त्रिक शक्तिको सङ्घर्ष हुने थापाको दाबी

  नेपाली सन्देश डट कम | ४ मंसिर २०८३, बिहीबार १८:५९

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा नभई पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण शक्ति सङ्घर्ष हुने बताएका छन्।

पार्टीद्वारा काठमाडौंमा आयोजित दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले विगतको निर्वाचनमा देखिएका कमजोरीबाट पाठ सिक्दै आगामी निर्वाचनका लागि पार्टीले आफ्नो आन्तरिक एकता र सङ्गठनात्मक शक्ति सुदृढ गर्नुपर्ने बताएका हुन्।

उनले पपुलिस्ट तथा फासीवादी शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न खोजिरहेको र बाह्य शक्तिहरूले समेत आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी गराउन खोज्ने भएकाले आगामी निर्वाचनहरू असामान्य हुने दाबी गरे । फासीवादी तथा पपुलिस्ट शक्तिहरूले आफ्नो एकाधिकार कायम राख्न चाहने र बाह्य शक्तिहरूले आफ्नो स्वार्थपूर्ति गर्न कठपुतलीहरूलाई विजयी बनाउनैपर्ने हुँदा आगामी निर्वाचनहरू सामान्य हुनेवाला छैनन् उनले भने।

चीनका महान् रणनीतिकार सुन जुको प्रसिद्ध भनाइ ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ उद्धृत गर्दै थापाले निर्वाचनमा विजय हासिल गर्न पार्टीले आफ्ना शक्ति, कमजोरी र प्रमुख प्रतिद्वन्द्वीको पहिचान गर्नुपर्ने बताए। उनले आन्तरिक एकतालाई विजयको प्रमुख आधारका रूपमा व्याख्या गरे।

गत वर्षको निर्वाचनमा पार्टीले भोगेका कमजोरीहरूको चर्चा गर्दै उनले नीति, नेतृत्व र जनता नै राजनीतिक सङ्घर्षमा विजय प्राप्त गर्ने मुख्य आधार भएको उल्लेख गरे । सङ्घर्षमा नीति, नेतृत्व र जनता नै विजयका मुख्य आधार हुन्। विगतको निर्वाचनमा हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ। हामीले हाम्रा कमजोरीहरू बुझ्न सकेनौँ। हामीले मुख्य प्रतिद्वन्द्वीका विरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ। हामीले आन्तरिक एकता कायम गर्न सकेनौँ। हामीले जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ उनले भने।

उपाध्यक्ष थापाले आगामी निर्वाचनमा सफलता प्राप्त गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने, प्रमुख प्रतिद्वन्द्वीविरुद्ध आवश्यक सहकार्य गर्नुपर्ने र पार्टी नेतृत्वको वरिपरि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गर्दै सही निष्कर्ष निकालेको उल्लेख गर्दै उनले अब ती निष्कर्षलाई व्यवहारमा दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए। उनका अनुसार पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने लोकतान्त्रिक शक्तिहरूबीच सहकार्यको वातावरण पनि विस्तार हुँदै गएको छ। जनतामा व्याप्त एल्गोरिदमसम्बन्धी भ्रम क्रमशः हट्दै गएको र सरकारप्रति असन्तुष्टि तथा आक्रोश बढिरहेको उनको भनाइ छ।

‘अहिले भूराजनीतिक शक्तिहरूबीच सङ्घर्ष तीव्र बन्दै गएको छ। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढ्दै गएको छ। जनतामा व्याप्त एल्गोरिदमको भ्रम क्रमशः हट्दै गएको छ। सरकारप्रति जनतामा आक्रोश चुलिँदै गएको छ। पछिल्ला घटनाक्रमहरूले संसदीय, सडक तथा कानुनी सङ्घर्षमा विजयको सङ्केत दिइरहेका छन्उनले भने।

उपाध्यक्ष थापाले पछिल्लो राजनीतिक परिस्थितिलाई पार्टीका लागि अनुकूल अवसरका रूपमा व्याख्या गर्दै त्यसको सदुपयोग गर्न एकता, सहकार्य, जनसम्बन्ध र प्रभावकारी नेतृत्वलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया

Selected poll is not defined.