काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले संविधानको भावना अनुसारका अधिकारलाई संकुचन गर्न नहुने बताएका छन्।
एनआरएनएद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले आफूहरूले संविधानको प्रावधान अनुसार नै नागरिकता पाउनुपर्ने बताए। उनले संविधानको व्यवस्था अनुसार नागरिकता प्राप्तिका लागि धेरै कानुन संशोधन गर्नुपर्ने आवश्यकता रहेको भए पनि हालसम्म दुईवटा मात्र कानुनमा संशोधन भएको बताएका छन् र त्यसका लागि धैर्य गर्न सबैलाई आग्रह गरे। चल अचल सम्पत्ति, जग्गा किनबेचदेखि हाम्रा साथीहरूले विदेशमा प्राप्त गरेका डाक्टर, इन्जिनियर, अधिवक्ता लगायतका लाइसेन्सको कार्यान्वयनका कुरा बाँकी छन्।” उनले थपे, “सरकारले १० वर्षको लागि निःशुल्क भिसा दिने कुरा मात्र पर्याप्त छैन, आफ्नै देशमा आउँदा भिसा लाग्ने नियमको अन्त्य गर्नुपर्ने आवश्यकता छ।”
अध्यक्ष केसीले सरकारसँग संवादमा रहेको भन्दै अहिलेको निर्णयलाई आंशिक रूपमा समर्थन गर्दै अघि बढ्नुपर्ने बताए। उनले यसैगरी, अब गैरआवासीय नेपालीहरूले बैंक खाता र डिम्याट खाता खोल्नका लागि नेपाली नागरिकको समान अधिकार प्राप्त गर्ने पनि जनाए।
“कुनै नाता नजोडिएकालाई सरकारले लगानीका लागि रेड कार्पेट बिछ्याएर स्वागत गरिरहेको छ भने आफ्ना नागरिकलाई अधिकार नदिने कुरा कस्तो?” उनले भने।
अर्को प्रसङ्गमा, केसीले वर्तमान कार्यसमितिको वैधानिकता बारे उठाइएका प्रश्नहरूको कुनै औचित्य नरहेको बताएका छन्। उनले भने, “११ औं अधिवेशन आफैंमा स्वायत्त छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ। अब १२ औं अधिवेशन अक्टोबर ११, २०२५ मा हुनेछ।” उनले सबैलाई १२ औं अधिवेशन सफल पार्ने कार्यमा जुट्न आह्वान गरे र भ्रममा नपर्न पनि चेतावनी दिए।
प्रतिक्रिया