अस्ट्रेलिया । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले नेपाली समुदायले अस्ट्रेलियामा पुर्याइरहेको योगदान र उनीहरूको सांस्कृतिक विविधताको प्रशंसा गरेका छन् । एनआरएनए अस्ट्रेलियाले आयोजना गरेको नेपाल महोत्सवमा पहिलो पटक सहभागी भएका प्रधानमन्त्री अल्बनिजले नेपालीले अस्ट्रेलियामा पुर्याएको योगदानको प्रशंसा गरेका हुन् । कार्यक्रममा उनलाई नेपाली ढाकाटोपी र नेपाली खादा लगाएर स्वागत गरिएको थियो ।
उत्साहित र हर्षित मुद्रामा कार्यक्रममा उपस्थित उनले अस्ट्रेलिया बहुसांस्कृतिक देश भएको र नेपालीले अस्ट्रेलियाको समग्र विकासका लागि महत्त्वपूर्ण योगदान दिएको बताएका थिए । एनआरएनए अस्ट्रेलियाले विगत दुई दशकदेखि नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल महोत्सव आयोजना गर्दै आएको छ । उक्त महोत्सवमा पहिलो पटक सहभागी प्रधानमन्त्री अल्बनिजले कार्यक्रममा सहभागी सबैलाई तिहारको शुभकामना दिएका थिए ।
उनले मन्तव्यका क्रममा बहादुरीका साथ कर्तव्य निर्वाह गरेर हालै सम्मान पाएका नेपाली सुरक्षाकर्मी विकास भारतीको पनि चर्चा गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री अल्बनिजले नेपालमा गत अगस्टमा आएको बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति समवेदना प्रकट गर्दै त्यसको पुनर्निर्माण र राहतका लागि आफ्नो साथ रहेको जनाएका थिए ।
प्रतिक्रिया