कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे ) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’
यसअघि संघका अध्यक्ष डा बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको समाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नगारिकता प्रदान गरिसकिएको भएपनि त्यसको कार्यान्वयन नभएकोले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानुनी प्रक्रिया अघि बढाईदिनहुनको लागि अनुरोध गर्नुभएको थियो ।
अध्यक्ष डा केसीले गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि अनुरोध गर्नुभयो । उक्त अवसरमा अध्यक्ष डा केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराउनुभएको थियो ।
जवाफमा मन्त्री चौरसियाले भन्नुभयो, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाल, नेपाली भाषा, र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल भइरहेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे हामी छलफलमा छौँ । र झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको छ ।’
सो अवसरमा संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि मन्त्रालयमार्फत अध्यागमन विभागद्वारा कार्यान्वयनको लागि पहल गरिदिन, गैरआवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद र सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक कानून निर्माणका लागी पहल गरिदिन, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकले समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरा सहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, नेपाल सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरुलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधाका लागि कानुनी रुपमा सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।
जवाफमा मन्त्री चौरसियाले यी सबै विषयबस्तु समेट्ने गरी झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो ।
सो अवसरमा मन्त्रालयका तर्फबाट सचिव उदयराज सापकोटा सहसचिव अरुणा जोशी समेत सहभागी हुनुहुन्थ्यो । यस्तै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।
एनआरएन नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धि समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाको क्रममा (पौष २२ २०८१ ) सोमबार गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनमा देखा परेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका उपायहरु तथा अध्यागमन, मालपोत, कम्पनि, बैंक तथा अन्य व्यवहारिक ठाउँका समस्या तुरुन्त समाधानका लागि बृहत छलफलपछि विभिन्न एक दर्जन ऐन संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ, यसै अधिवेशनबाट अधिकांश समस्या समाधान हुन्छ ।’
त्यसअघि संघका अध्यक्ष डा केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा नागरिकता लिइसकेका र लिने क्रममा रहेका गैरआवासीय नेपालीहरु निराश भएको बताएपछि गृहमन्त्री लेखकले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
भेटमा गैरआवासीय नेपाली नागरिकता नहुँदा नेपालमा लगानीका लागि पनि समस्या पर्ने भन्दै अध्यक्ष डा केसीले ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा गृहमन्त्री लेखकले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि संशोधन गर्नुपर्ने झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले नै लगानीका लागि आउनुस् भन्नुपर्नेमा तपाईहरु आफैँ आफ्नो देशमा लगानी गछौँ भनेर आउनुभएको छ, नेपालको विद्यमान कानुनमा रहेका समस्याहरु, कानुन तथा नियमावली संशोधनका लागि संसदमा प्रस्तुत गर्दछौँ ।’
उक्त अवसरमा अध्यक्ष डा केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराउनुभएकाृ थियो । जवाफमा गृहमन्त्री लेखले भन्नुभयो, ‘यस सम्बन्धमा छलफल भइरहेको छ । गैरआवासीय नेपालीको परिभाषाभित्र नअटाएका नेपाली मूलका विदेशी नागरिकका लागि बेग्लै परिचयपत्र दिन कानून मन्त्रालयले गृहकार्य नै थालेको छ । सरकार यसमा सकारात्मक छ ।’
सो अवसरमा संघका अध्यक्ष डा. बद्री केसीसहित, सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना,सल्लाहकार गोविन्द प्रसाद गौतम, आइसीसी सदस्य सञ्जु पौडेल(दक्षिण कोरिया) प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकताका फोकलपर्शन सरोज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया