होम लम्साल । अमेरिकामा सम्पन्न राज्यस्तरीय विधायक स्टेट लेजिस्लेचर निर्वाचनमा नेपाली मूलका तीन जना नेपाली (अमेरिकन राजनीतिज्ञहरूले ऐतिहासिक जित हासिल गरेका छन्। डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका तीन नेपाली अमेरिकन प्रत्यासी ह्यारी भण्डारी, सरहाना श्रेष्ठ, र विश्व शाह विजयी भएका छन्। यसै गरी अर्का नेपाली सतीश चापागाईं पराजित भएका छन् ।
अमेरिकाको मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ बाट डेमोक्रेटिक पार्टीका उम्मेदवार डा. ह्यारी भण्डारीले तेस्रो पटक मेरिल्यान्ड हाउस अफ डेलिगेट्स राज्यसभा सदस्यमा जित दर्ता गराउन सफल भएका छन्। अमेरिकी राजनीतिमा नेपाली समुदायका लागि ढोका खोल्ने अग्रणी व्यक्तित्व भण्डारीले सन् २०१८ मा पहिलो पटक जितेर अमेरिकामा राज्यस्तरीय विधायक बन्ने पहिलो नेपाली(अमेरिकनको कीर्तिमान कायम गरेका थिए।
सन् २०२२ को निर्वाचनमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका भण्डारीले यस पटकको निर्वाचनमा पनि आफ्नो लोकप्रियता र कामको प्रभावलाई निरन्तरता दिँदै फराकिलो मतान्तरले विजय हासिल गरे। आफ्नो क्षेत्रका बासिन्दाहरूको शिक्षा, जनस्वास्थ्य, पूर्वाधार र युवा रोजगारीका मुद्दाहरूलाई निरन्तर प्राथमिकता दिँदै आएका भण्डारीको यो लगातार तेस्रो जितले मेरिल्यान्डको राजनीतिमा नेपाली समुदायको उपस्थिति र प्रभावलाई थप मजबुत बनाएको छ।
जितपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, “यो जित मेरो मात्र नभई सम्पूर्ण मेरिल्यान्डवासी र नेपाली(अमेरिकन समुदायको विश्वासको प्रतीक हो। मेरा मतदाताले ममाथि पुनः देखाएको यो अपार विश्वासप्रति म हार्दिक आभार व्यक्त गर्दछु।”
उता न्युयोर्क राज्यको एसेम्बली डिस्ट्रिक्ट १०३ बाट उम्मेदवार बनेकी सरहाना श्रेष्ठले पनि आफ्नो संसदीय यात्रालाई निरन्तरता दिँदै पुन विजय हासिल गरेकी छन्। जलवायु परिवर्तन, वातावरण संरक्षण, किफायती आवास र सामाजिक न्यायका मुद्दाहरूमा प्रखर रूपमा आवाज उठाउँदै आएकी श्रेष्ठ डेमोक्रेटिक र वर्किङ फेमिलिज पार्टीका तर्फबाट चुनावी मैदानमा थिइन्।
श्रेष्ठले सन् २०२२ मा पहिलो पटक न्युयोर्क राज्य एसेम्बली सदस्यका रूपमा चुनाव जितेर न्युयोर्क राज्यको तल्लो सदनमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली(अमेरिकन बन्ने इतिहास रचेकी थिइन्। वातावरणविद् तथा सामाजिक अभियन्ताका रूपमा पहिचान बनाएकी श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा गरेका प्रगतिशील नीतिगत कार्यहरूकै कारण दोस्रो कार्यकालका लागि पुनः जित हात पारेकी हुन्।
त्यसैगरी नेपाली अमेरिकी विश्वबहादुर शाह न्यु ह्याम्पसायरको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचन जितेका शाह नोभेम्बर ३ मा सम्पन्न आमनिर्वाचनमा पनि विजयी भएका हुन्। म्यानचेस्टर निवासी शाह हिल्सबरो काउन्टीको जिल्ला ४१ बाट न्यु ह्याम्पसायरको ४०० सदस्यीय प्रतिनिधिसभामा निर्वाचित भएको अनौपचारिक नतिजाले देखाएको छ।
नोभेम्बर ३, २०२६ को आमनिर्वाचनको अनौपचारिक मतगणनाअनुसार तीन सदस्यीय निर्वाचन क्षेत्रबाट डेमोक्रेटिक उम्मेदवार लिली एम। फस, टम स्टुअर्ट र विश्वबहादुर शाहले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। न्यु ह्याम्पसायरका बहुसदस्यीय निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गर्ने तीन उम्मेदवार निर्वाचित हुन्छन्। प्रारम्भिक मत गणनामा शाहले ५,७२६ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। फसले ६,३१६ र स्टुअर्टले ६,२४१ मत पाएका छन्। उनीहरूका निकटतम रिपब्लिकन प्रतिस्पर्धी रायन हेबर्टले भने ३,३९५ मत मात्र प्राप्त गरेका छन्। यससँगै जिल्ला ४१ का तीनवटै सिट डेमोक्रेटिक पार्टीले जितेको छ।
मेरिल्यान्डकै हाउस अफ डेलिगेट्सअन्तर्गत डिस्ट्रिक्ट ७ ‘ए’ बाट प्रतिस्पर्धामा उत्रिएका नेपाली(अमेरिकन उम्मेदवार सतीश चापागाईं भने निर्वाचनमा पराजित भएका छन्। डेमोक्रेटिक पार्टीको प्राथमिक निर्वाचन प्राइमरी सफलताका साथ पार गर्दै उनी जनरल इलेक्सनको मैदानमा पुगेका थिए। दुई वटा सिट रहेको उक्त निर्वाचन क्षेत्रमा रिपब्लिकन पार्टीका प्रभावशाली बहालवाला उम्मेदवारहरूसँग कडा प्रतिस्पर्धा भएपछि चापागाईं जित हात पार्नबाट चुकेका हुन्। यद्यपि, चुनावी नतिजा आफ्नो पक्षमा नआए पनि अमेरिकाको प्रतिस्पर्धी राजनीतिमा उनले दर्ता गराएको बलियो उम्मेदवारी र प्राप्त मतलाई नेपाली समुदायले अमेरिकामा बढ्दो राजनीतिक पहुँचका रूपमा अर्थ्याएका छन्। पराजयपछि चापागाईले आफु यस निर्वाचननबाट निकै उत्साहि भएको बताएका छन । यो मेरो शुरुवात हो आगामी दिनमा फेरी प्रयासहरु जारी राख्नेछु खबरमालासंग बताए ।
प्रतिक्रिया