गगन थापालाई पक्राउ गर्ने तयारी

  नेपाली सन्देश डट कम | २० कार्तिक २०८३, बिहीबार ११:३९

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी परिवर्तनसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरी निगरानी बढाइएको उनको सचिवालयले दाबी गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला कदमको आलोचना गर्दै आएका थापामाथि न्यौपाने थरका एक डीएसपीको टोलीले चार–पाँच दिनदेखि निगरानी गरिरहेको सचिवालयका सदस्यहरूको भनाइ छ।

थापाको निवास, सम्पर्क कार्यालय, पार्टी कार्यालय र भेटघाट गर्ने स्थानमा प्रहरीले निगरानी गरिरहेको उनीहरूको दाबी छ। सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्रीको टिममा थापालाई पक्राउ गर्ने विषयमा समेत छलफल भइरहेको छ।

इनम सापकोटाको बयानबारे सोधपुछका नाममा थापालाई हिरासतमा राख्ने तयारी भइरहेको आशंका कांग्रेस नेताहरूले गरेका छन्। इनमको सार्वजनिक अडियोमा सभापति थापाले पार्टीको वैधानिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख छ ।

सम्भावित पक्राउको आशंकाबीच थापाले बुधबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन् भने बिहीबार पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेका गतिविधिको कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने बताएका छन्। पार्टीले आधिकारिकतासम्बन्धी विवादमा निष्पक्ष छानबिनको माग गर्दै उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.