मलेसिया रोजगारी ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ

  नेपाली सन्देश डट कम | ३ मंसिर २०८३, बुधबार २२:४८

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षण तथा बायोमेडिकल सेवाका नाममा अर्बौँ रुपैयाँ अतिरिक्त असुली गरेको प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित ६ जना उच्च अधिकारीलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित ६ जनालाई पक्राउ गरेको हो ।

अनुसन्धानका मुख्य तथ्य :
– सन् २०७५ को अन्त्यदेखि २०८० सम्म ७ लाख ३३ हजार नेपाली श्रमिकबाट अतिरिक्त शुल्क असुली ।
– प्रतिकामदार १०० मलेसियन रिङ्गिट अर्थात् करिब ३ हजार १६० रुपैयाँ असुली ।
– कुल २ अर्ब ३१ करोड ६२ लाख रुपैयाँभन्दा बढी रकम संकलन ।
– संकलित रकमको ९० प्रतिशत मलेसियास्थित बेस्टिनेट कम्पनीमा पठाइएको आरोप ।
– करिब १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम विदेशी मुद्रा (डलर र पाउन्ड) मा विदेश पठाइएको सीआईबीको अनुसन्धान निष्कर्ष ।

कसरी भयो ठगी ?

सीआईबीका अनुसार म्याक्रोटेक प्रालिमार्फत मलेसिया जाने श्रमिकलाई अतिरिक्त मेडिकल स्क्रिनिङ तथा बायोमेडिकल परीक्षण गर्न बाध्य पारेर रकम असुलिएको थियो । जबकि सरकारले नियमित स्वास्थ्य परीक्षणका लागि ४ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

नेपाल–मलेसिया सरकारबीचको समझदारीविपरीत अतिरिक्त शुल्क असुली र विदेशी मुद्रा विदेश पठाउने प्रक्रियामा तत्कालीन मन्त्री तथा सरकारी अधिकारीहरूको भूमिका रहेको आशंकामा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

उनीहरूमाथि आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, श्रमिकमाथिको ठगी रोक्न पहल नगरेको र गैरकानुनी रकम विदेश पठाउने प्रक्रियामा संलग्न रहेको आरोप छ ।

सीआईबीले यस प्रकरणमा ठगी, संगठित अपराध तथा विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । पक्राउ परेका व्यक्तिहरूमाथिको आरोप अनुसन्धानकै क्रममा रहेकाले दोषी ठहर भने अदालतबाट हुन बाँकी छ ।

प्रतिक्रिया

Selected poll is not defined.