काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले हुतिहाराहरूको पार्टी नभई देशको नेतृत्व गर्न सक्ने सक्रिय र प्रतिबद्ध कार्यकर्ताहरूको पार्टी भएको बताएका छन्।
आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले एमालेका कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको विषयमा आपत्ति जनाउँदै त्यसको मूल्य निकै महँगो पर्ने चेतावनीसमेत दिएका छन्।
अध्यक्ष ओलीले आफूहरूलाई असंवैधानिक ढंगले सत्ताबाट हटाइएको दाबी गर्दै एमाले संवैधानिक बाटोबाटै पुनः सत्तामा पुग्ने बताएका छन्।
उनले वर्तमान सरकारले राज्य सञ्चालनका क्रममा विधि, प्रक्रिया र थितिको पालना नगरेको आरोपसमेत लगाए। सरकारका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै ओलीले सरकारको अराजकताविरुद्ध एकजुट भएर आन्दोलनमा उत्रिन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले पार्टीको राजनीतिक भूमिका, कार्यकर्तामाथि भएको भनिएको धरपकड र वर्तमान सरकारका गतिविधिबारे आफ्नो धारणा राखेका हुन्।
प्रतिक्रिया