काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) को अभिव्यक्तिप्रति कडा आक्रोश व्यक्त गरेका छन्।
आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आईजीपीको आलोचना गरेका हुन्।
सम्बोधनका क्रममा ओलीले आईजीपीको पदमा रहेर यस्तो अभिव्यक्ति दिनु उचित नभएको टिप्पणी गरे। उनले भने आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म। आईजीपीको बोली यस्तो हुन्छ ? म केपी ओलीलाई थुन्दिन्छु, म शेरबहादुरलाई थुन्दिन्छु, म प्रचण्डलाई थुन्दिन्छु।
उनले थप आक्रोश व्यक्त गर्दै केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालजस्ता राजनीतिक नेताहरू मजाकका पात्र नभएको बताए।
ओलीले आफूहरू पञ्चायती व्यवस्था, राणाशासन तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेर राजनीतिमा आएको स्मरण गराउँदै प्रहरी प्रमुखको अभिव्यक्तिले राजनीतिक संघर्ष र योगदानको अपमान गरेको आशय व्यक्त गरे । उनले प्रहरी सेवामा सीमित समय बिताएका व्यक्तिले राजनीतिक नेतृत्वलाई थुन्ने धम्कीपूर्ण भाषा प्रयोग गर्नु हास्यास्पद भएको टिप्पणीसमेत गरे।
६ महिनाको जागिर खाने सिपाहीले भन्छ फलानालाई थुन्दिन्छु, ठट्टामजाक गरेको हो? तिनी जन्मिनु अगाडिदेखि आन्दोलनमा देशका लागि बाजी थापेर हिँडिराखेका छौँ। मजाक गर्ने हामीमाथि? ओलीले प्रश्न गरे।
ओलीको यस अभिव्यक्तिसँगै प्रहरी नेतृत्वको भूमिका, राजनीतिक नेतृत्वप्रतिको अभिव्यक्ति र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको जिम्मेवारीबारे राजनीतिक वृत्तमा बहस सिर्जना हुने देखिएको छ।
प्रतिक्रिया