काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङमार्गको बुधबार ‘ब्रेक थ्रु’ गर्नुभएको छ।
सुरुङमार्गको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व तथा राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्र निर्माण र विकासका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो।
उहाँले विकट भौगोलिक अवस्था, जटिल भूबनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले प्रदर्शन गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवं अनुकरणीय रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवका आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ तथा पुल निर्माण र देशकै पहिलो द्रुतमार्ग निर्माणसम्म नेपाली सेना अहोरात्र खटिएको बताउनुभयो।
काठमाडौं उपत्यकालाई तराई/मधेशसँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो आधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने उहाँको विश्वास छ । यो आयोजना सञ्चालनमा आएपछि यात्रा समय तथा दूरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत उल्लेख्य बचत हुनेछ राष्ट्रपति पौडेलले भन्नुभयो।
उहाँले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यस आयोजनालाई समयमै सम्पन्न गर्न नेपाल सरकार र नेपाली सेना दृढ रहेको आफूले पाएको पनि बताउनुभयो। द्रुतमार्गको महत्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसले राजधानी काठमाडौं र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा आयोजनाको योगदान दूरगामी र महत्वपूर्ण रहने उहाँको भनाइ थियो।
आयोजना समयमै सम्पन्न गर्न प्रभावकारी समन्वय र सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको बताउँदै राष्ट्रपति पौडेलले निर्माण कार्यमा नेपाली सेनालाई सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो।
उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधान सेनापति अशोकराज सिग्देललगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया