लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया, बुद्ध मुर्ति प्रतिस्थापन

  नेपाली सन्देश डट कम | २० कार्तिक २०८३, बिहीबार ११:२३

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बुधबार नेपालको पर्यटन प्रवर्द्धन केन्द्रित कार्यक्रम गरेको छ ।

नेपाल इभिनिङ नाम दिइएको उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडकराज पौडेल (गनेश) को नेतृत्वमा लन्डन आएको प्रतिनिधिमण्डल र रास्वपा सांसद मनिषा झा समेत उपस्थित थिए ।

मन्त्री पौडेल पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड ट्राभल मार्केट (डब्लूटीएम) २०२६ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डन आएका हुन् ।

नेपाल पर्यटन बोर्डको संयोजकत्वमा ३२ नेपाली कम्पनी र होटल सोल्टी आफ्नै तरिकाले मेलामा सहभागी छ ।

एक्सेल लन्डनमा ३ नोभेम्बरदेखि सुरु वर्ल्ड ट्राभल मार्केट बिहीबार सकिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पौडेलले नेपालले विश्वलाई दिने सबैभन्दा उत्कृष्ट उपहार ध्यान र योगा भएको बताए ।

नेपाल सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस वर्ष’ का रूपमा घोषणा गर्दै यो अभियान समग्र स्वास्थ्य, आध्यात्मिक उपचार र दिगो पर्यटनका लागि मुलुकलाई विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने १० वर्षे बृहत् रणनीतिको एक हिस्साका रूपमा लिएको छ ।

दूतावासमै गौतम बुद्धको मूर्ति उद्घाटन पछि मञ्च उत्रिएका उनले हाम्रा लागि बुद्ध केवल एक ऐतिहासिक प्रतीक मात्र नभइ उनी शान्ति, करुणा र सहअस्तित्वको सन्देश संसारभर पुरयाउने वास्तविक राजदूत भएको समेत बताए ।

नेपाल गौतम बुद्धको भूमि भएको उल्लेख गर्दै मन्त्री पौडेलले बुद्धले नै ध्यानको सुरुवात गरेको बताए ।

बेग्लै प्रसंगमा मन्त्री पौडेलले डब्लूटीएममा द्विपक्षीय पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान, पर्यटन क्षेत्रमा लगानी र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा विभिन्न देशका पर्यटन मन्त्रीहरूसँग छलफल भएको जनाए ।

मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक र दिगो पर्यटनका सम्भावना उजागर गरिएको उनको भनाइ छ ।

कार्यक्रममा सांसद झाले आफूले बेलायतबाट कूटनीतिक सम्बन्ध र बेलायती संसदीय अभ्यासबारे धेरै सिकिरहेको बताए ।

‘सार्वजनिक लेखा समिति’ मा समेत रहेका उनले बेलायती सांसदहरूले कर प्रणाली, सार्वजनिक लेखा र करदाताको रकम व्यवस्थापन कसरी गर्छन् भन्नेबारे पनि सिकिरहेको उनको भनाइ थियो ।

भूतपूर्व ब्रिटिस गोर्खाहरूको न्यायका लागि सबैले आवाज उठाउन र नेपालको पर्यटन उद्योगलाई ब्रान्डिङ गर्नुपर्नेमा समेत झाले जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सन्तोष पन्तले गत वर्ष सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल भित्रिएकामध्ये बेलायतबाट ५८ हजार ६ सय ८४ जना रहेको जनाए ।

पन्तले एक प्रिजेन्टेसन दिंदै नेपालको प्राकृतिक सौन्दर्य, साहसिक, धार्मिक तथा आध्यात्मिक, ऐतिहासिक तथा सांस्कृतिक, वन्यजन्तु तथा इको–टुरिजम जस्ता प्रमुख पर्यटकीय विशेषताबारे अवगत गराए ।

हिमाल आरोहण, ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, रयाफ्टिङ, क्यानोइङ र माउन्टेन बाइकिङ नेपालका प्रमुख साहसिक पर्यटकीय गतिविधि रहेको उनले बताए ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, स्वयम्भूनाथ, बौद्धनाथ आदि नेपालका प्रमुख धार्मिक तथा आध्यात्मिक गन्तव्य रहेका पनि उनले सुनाए ।

काठमाडौं, भक्तपुर र ललितपुरका दरबार क्षेत्र, मन्दिर, गुम्बा, जात्रा, कला, वास्तुकला र परम्परागत संस्कृतिले नेपाललाई सांस्कृतिक पर्यटनको विशिष्ट गन्तव्य बनाएका उनको भनाइ छ ।

मौलिक खाना, उच्चस्तरका होटल रेष्टुरेन्ट, हवाइ यातायात सुविधा, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी, वन्यजन्तु अवलोकन, पक्षी निरीक्षण आदि नेपालका आकर्षण भएको पनि वरिष्ठ निर्देशक पन्तले जनाए ।

कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले भौगोलिक आकारका हिसाबले नेपाल तुलनात्मक रूपमा सानो मुलुक भएपनि यहाँ भू–दृश्य, संस्कृति, परम्परा र अनुभवहरूको असाधारण विविधता पाइने बताए ।

नेपालले भव्य हिमालय र विश्वप्रसिद्ध सगरमाथादेखि पोखराका शान्त तालहरूसम्म, अनि चितवन र बर्दियाका जंगलदेखि भगवान् बुद्धको पवित्र जन्मस्थल लुम्बिनीसम्मको अनुभव दिलाउने उल्लेख गरे ।

‘हाम्रा प्राचीन मन्दिरहरू, ऐतिहासिक सहरहरू, जीवन्त सांस्कृतिक परम्पराहरू, विविध जातीय समुदायहरू, चाडपर्वहरू र आतिथ्य सत्कारले पर्यटक तथा अन्वेषकलगायत सबैलाई आकर्षित गर्छन्’, दुवाडीले भने, ‘नेपाल पदयात्रा, पर्वतारोहण र साहसिक कार्यको भूमि मानिन्छ । यो आध्यात्मिक चिन्तन, ध्यान, योग, स्वास्थ्य तथा कल्याण, वन्यजन्तु, सम्पदा र सांस्कृतिक अन्वेषणका लागि पनि एक आकर्षक गन्तव्य हो ।’

प्रतिस्पर्धी, लचिलो, नवप्रवर्तन, जिम्मेवार र दीर्घकालीन समृद्धि प्रदान गर्न सक्षम पर्यटन क्षेत्र निर्माण गर्ने सरकारको स्पष्ट दिशा रहेको पनि उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन सम्बन्धी एक वृत्तचित्र समेत देखाइएको थियो ।

प्रतिक्रिया

Selected poll is not defined.