काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेको छ। पार्टीले देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण सिर्जित असहज परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनको उद्घाटन मिति परिवर्तन गरेको जनाएको छ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन समारोह अब २०८३ असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना हुनेछ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशनहरू सम्पन्न भइसकेका छन्। हाल प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू सञ्चालन भइरहेका छन्।
यसै क्रममा देशका विभिन्न क्षेत्रमा भएको भारी वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिले केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै सम्पन्न हुन बाँकी रहेको पार्टीले जनाएको छ।
केन्द्रीय निर्वाचन समिति तथा पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीअनुसार केही स्थानमा अधिवेशन र प्रतिनिधि चयनको प्रक्रिया जारी रहेकाले निर्धारित समयमै सबै प्रक्रिया पूरा गर्न कठिनाइ भएको हो।
सोही अवस्थालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा गर्ने निर्णय गरेको हो।
पार्टीले महाधिवेशनअन्तर्गतका बाँकी निर्वाचन तथा प्रतिनिधि चयन प्रक्रियालाई निरन्तरता दिँदै निर्धारित कार्यक्रमअनुसार अघि बढाउने जनाएको छ।
प्रतिक्रिया