काठमाडौँ । नेपालको राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली काँग्रेसको १५औँ महाधिवेशनमार्फत देशभरबाट झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन्।
पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्षमुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए। उनले नेपालका कुनै पनि राजनीतिक दलमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको इतिहासमै पहिलो पटक भएको दाबी समेत गरे।
नयाँ विधानमा हरेक वडाबाट ३५ वर्षमुनिका एक महिलासहित कम्तीमा तीन जना युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। जसअनुसार ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाका दरले २० हजार २२९ जना अनिवार्य निर्वाचित भएका छन् ।
तर, हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था मिलाइएको छ। त्यसलाई औसतमा ५ जना निर्वाचित हुन्छन् भन्ने आधार मान्दा ३३ हजार ७१५ जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन् । यसैगरी, हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था छ। नेपालमा हाल गाउँपालिकातर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिकातर्फ ३ हजार ५२८ वडा रहेका छन्। त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिकातर्फका वडाहरूमा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन् ।
यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले प्रत्यक्ष पदीय जिम्मेवारी सम्हालेका छन्।
ती पदहरूमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धीहरू मैदानमा उत्रिएकाले काँग्रेसको महाधिवेशनमा झण्डै एक लाख युवाले भाग लिएर प्रतिस्पर्धा गरेको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जनाएका छन् । यिनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन्। साथै, प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमिति सदस्यका रूपमा निर्वाचित हुँदैछन् ।
त्यसैगरी, तीनै क्षेत्रीय प्रतिनिधिहरूमध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरिबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक-एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागिरहेको जानकारी पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले दिए ।
नयाँ विधानको व्यवस्था अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुनेछन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्। केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवाले प्रवेश पाउने भएका छन्।
प्रतिक्रिया