काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह केन्द्रीय सदस्य निर्वाचन समितिले १५ औँ महाधिवेशनका लागि ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०८३’ जारी गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया र उम्मेदवारी दर्ताका मापदण्ड तय गरेको छ।
डा. शशाङ्क कोइराला नेतृत्वको महाधिवेशन आयोजक समिति मातहत रहेको सो समितिले सार्वजनिक गरेको निर्देशिकामा वडा सदस्यदेखि केन्द्रीय सभापतिसम्मका उम्मेदवारलाई आवश्यक पर्ने प्रस्तावक र समर्थकको सङ्ख्या तोकेको हो।
निर्देशिकामा समेटिएका मनोनयन पत्रका ढाँचा (अनुसूची १९ देखि २२ सम्म) अनुसार उच्च पदहरूमा उम्मेदवारी दर्ताका लागि पार्टीभित्र फराकिलो समर्थन अनिवार्य गरिएको छ। जसअनुसार, केन्द्रीय सभापतिको उम्मेदवार बन्नका लागि सबैभन्दा बढी अर्थात् ७ जना प्रस्तावक र ७ जना समर्थक अनिवार्य गरिएको छ। यो व्यवस्थाले सभापति पदका आकांक्षीले कम्तीमा १४ जना महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष हस्ताक्षरसहितको साथ देखाउनुपर्ने भएको छ। केन्द्रीय तहका अन्य पदाधिकारीका लागि भने सभापतिको तुलनामा केही सहज प्रावधान राखिएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारी दिनका लागि ५ जना प्रस्तावक र ५ जना समर्थक गरी कुल १० जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्नेछ। त्यसैगरी, केन्द्रीय सदस्य पदका आकांक्षीले ४ जना प्रस्तावक र ४ जना समर्थक गरी कुल ८ जना प्रतिनिधिको समर्थन जुटाउनुपर्नेछ।
प्रदेशदेखि स्थानीय तहसम्मका समितिहरूका लागि भने अलि फरक प्रकृतिको ढाँचा निर्धारण गरिएको छ। मनोनयन पत्र दर्ता गर्दा प्रस्तावक र समर्थक अनिवार्य रूपमा महाधिवेशन प्रतिनिधि हुनुपर्नेछ भने उम्मेदवारको नाम, मतदाता क्रमसङ्ख्या, क्रियाशील सदस्यता नम्बर, वारिसनामाको स्पष्ट विवरण र निर्धारित उम्मेदवारी शुल्क तिरेको रसिद अनिवार्य रूपमा संलग्न गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।
प्रतिक्रिया