काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गएराति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि चौतर्फी विरोध भएको छ। ‘जेनजी थ्रेट’ को कारण देखाउँदै मध्यरातमा नियन्त्रणमा लिइएका जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको छ ।
तर, बिना पक्राउ पुर्जी र अदालती अनुमति नियन्त्रणमा लिइएको भन्दै जेनजी अभियान्ता, राजनीतिक दलका नेता तथा अधिकारकर्मीहरूले सरकारको कडा आलोचना गरेका छन्। प्रहरीले जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको दाबी गरेपछि जेनजी अभियान्ताहरूले कडा आपत्ति जनाएका छन् ।
अभियान्ता माजिद अन्सारीले सरकार र गृहमन्त्रालयको नियतमाथि प्रश्न उठाउँदै थ्रेट दिनेलाई छाडेर थ्रेट हुनेलाई नियन्त्रणमा लिनु गैरकानुनी भएको बताए । कुन जेनजीबाट कसरी थ्रेट भयो ? ती कुन ग्याङका जेनजी हुन्? थ्रेट दिने डन वा दादा पक्राउ नपर्ने, अनि पूर्वप्रधानन्यायाधीशलाई प्रहरी चौकीमा थुन्ने?’ भन्दै उनले पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइनु विधिको शासनविरुद्ध भएको बताएका छन् ।
अर्की जेनजी अभियान्ता रक्षा बमले सरकारले आफ्नो असफलता र असक्षमता ढाकछोप गर्न ‘जेनजी थ्रेट’ को उपनाम दिएको बताएकी छिन् । ‘जेनजी भनेको के कुनै आतंकवादी वा भूमिगत समूह हो? शक्तिको मातमा मनलाग्दी नियन्त्रणमा लिने र कारण ‘जेनजी’ भन्ने ?’ भन्दै उनले सुरक्षा निकायको दुरुपयोग नगर्न चेतावनी दिएकी छिन्।
अर्का अभियान्ता अजय सोडारीले कुनै पनि जेनजी समूह वा व्यक्तिले जबरालाई धम्की नदिएको स्पष्ट पारे। ‘जेनजी आन्दोलनलाई अपराध र गर्हस्थसँग जोडेर बद्नाम गर्ने प्रयास अस्वीकार्य छ। यदि थ्रेट आएको हो भने प्रहरीले तत्काल प्रमाण सार्वजनिक गरोस्,’ उनको माग छ।
नियन्त्रणका क्रममा पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदिई फर्काएको थियो। २०७५ पुस १७ मा प्रधानन्यायाधीश बनेका जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए।
प्रतिक्रिया