काठमाडौं — भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारसँग सहकार्य अघि बढाउने भएको छ। अभियान सुरु भएको २६औँ दिनमा एनआरएनएले सरकारी निकायका मन्त्री तथा अधिकारीहरूसँग भेट गरी दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण र जीविकोपार्जनका कार्यक्रमबारे छलफल गरेको हो।
एनआरएनए पदाधिकारीको टोलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती, सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको जनाएको छ।
भेटवार्तामा विपद् प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण, जीविकोपार्जन, महिला तथा बालबालिकाका लागि लक्षित कार्यक्रम र प्रभावकारी सूचना प्रवाहका विषयमा छलफल भएको थियो।
एनआरएनएले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, प्रविधि तथा स्रोतलाई सरकारसँगको समन्वयमा पुनर्स्थापना र पुनर्निर्माणमा परिचालन गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरी सहयोगमा दोहोरोपन नहुने तथा स्रोत परिचालनलाई समन्वित र पारदर्शी बनाउने विषयमा पनि जोड दिइएको थियो।
सरकार र एनआरएनएबीच सहकार्यका सम्भावित क्षेत्र पहिचान गरी आगामी दिनमा ठोस कार्ययोजनासहित अघि बढ्ने तथा आवश्यकताअनुसार समझदारीपत्र (MoU) मार्फत सहकार्यलाई संस्थागत गर्ने विषयमा समेत छलफल भएको एनआरएनएले जनाएको छ।
यसैबीच, एनआरएनएले रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग पनि भेट गरी बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा छलफल गरेको छ।
एनआरएनए सचिवालयमा भएको भेटमा अध्यक्ष अर्यालले प्रभावित क्षेत्रको आवश्यकता र पुनर्स्थापनाका प्राथमिकताबारे जानकारी गराउँदै तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको थियो।
छलफलमा प्रभावित क्षेत्रमा विभिन्न क्षेत्रका विशेषज्ञ जनशक्तिको आवश्यकता रहेको विषयसमेत उठाइएको थियो। एनआरएनएले डायस्पोरामा रहेका इन्जिनियर, चिकित्सक, प्राविधिक तथा अन्य विषयका विज्ञहरूको ज्ञान, सीप र अनुभवलाई आवश्यकता अनुसार परिचालन गर्न सकिने जनाएको छ।
भोटेकोशी बाढी प्रभावितका लागि एनआरएनएले अघि बढाएको अभियानमा पूर्वप्रतिबद्धताअनुसार सहयोग रकम प्राप्त हुने क्रम पनि जारी छ। ‘भोटेकोशी–रसुवा बाढी २०२६’ को वित्तीय प्रतिवेदनअनुसार अभियानका लागि कुल ८ करोड ७७ लाख २१ हजार ९०६ रुपैयाँ ६६ पैसा सहयोग प्रतिबद्धता प्राप्त भएकोमा हालसम्म ५ करोड ७५ लाख ५१ रुपैयाँ २८ पैसा संकलन भएको एनआरएनएले जनाएको छ।

प्रतिक्रिया