भोटेकोशी बाढीपछि शिक्षकको क्षमता अभिवृद्धिमा बेलायतको सहयोग

  नेपाली सन्देश डट कम | ३१ भाद्र २०८३, बुधबार ०५:२०

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यालयहरूमा शिक्षकको पेसागत दक्षता अभिवृद्धिका लागि बेलायत सरकारले ब्रिटिस काउन्सिलमार्फत सहकार्य गर्ने भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग भएको शिष्टाचार भेटवार्तामा नेपालका लागि बेलायती राजदूत रब फेनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । जलवायुजन्य विपद्को यस कठिन घडीमा बेलायत नेपालको साथमा रहेको उल्लेख गर्दै राजदूत फेनले बाढी प्रभावित क्षेत्रका शिक्षकहरूको पेसागत विकासका लागि ब्रिटिस काउन्सिलमार्फत तत्काल सहकार्यको तयारी भइरहेको जानकारी दिए ।

उनले नेपालको शिक्षा र खेलकुद क्षेत्रमा बेलायत सरकारको सहयोग आगामी दिनमा पनि प्राथमिकताका साथ जारी रहने सुनाए।

भेटका क्रममा शिक्षामन्त्री पोखरेलले विद्यालय शिक्षाको रूपान्तरणका लागि लामो समयदेखि प्रतीक्षित ‘शिक्षा ऐन’ निर्माण प्रक्रियालाई मन्त्रालयले द्रुत गतिमा अघि बढाइरहेको बताएका थिए । उनले नयाँ ऐनमा आवश्यक सबै सुधारका पक्षहरू समेटिनुका साथै राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, डिजिटल शिक्षाको विस्तार र शिक्षकहरूको पेसागत विकासमा मन्त्रालय केन्द्रित रहेको जानकारी दिए।

नेपालको शैक्षिक तथा खेलकुद विकासमा बेलायतले पुर्‍याउँदै आएको ऐतिहासिक सहयोगप्रति आभार प्रकट गर्दै मन्त्री पोखरेलले मन्त्रालयले सुरु गरेका नयाँ सुधार अभियानमा बेलायतसँग साझेदारी विस्तार गर्न सरकार तयार रहेको बताए।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया

Selected poll is not defined.