संसदीय समिति गठन गरेर प्रधानमन्त्री चुप लाग्ने अवस्था नहोस् : गगन थापा

  नेपाली सन्देश डट कम | ३१ भाद्र २०८३, बुधबार १५:३४

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न तयार रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले संसदीय समितिले तयार पारेको प्रतिवेदनअनुसार सरकारले काम गर्नुपर्ने बताए।

उनले भने, ‘हामी अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौं। संसदीय समितिमा बसेर काम पनि गर्छौं। समितिले तयार गरेको रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस्।’

यस्तै, सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्ने बताएका छन्। संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाएर समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ छ।

उनले भने, ‘यत्रो संसदीय समिति हामीले बनाउने भनेका छौं, यत्रो जिम्मेवारी दिएका छौं। तर, प्रधानमन्त्रीजीले नै संसदीय समितिको मान र मर्यादा राख्नुभएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै बेवास्ता गरिराख्नुभयो भने त्यो बेलामा के गर्ने हो त ?’

यस्तै, सभापति थापाले संसदीय समिति गठन हुनुअघि नै प्रधानमन्त्रीलाई समितिको कार्यक्षेत्र र जिम्मेवारीबारे जानकारी गराउनुपर्ने बताउँदै सरकार र संसद्‍बीच समन्वय आवश्यक रहेको बताए।

प्रतिक्रिया

Selected poll is not defined.