काठमाडौं । प्रतिनिधिसभा सदस्य निश्कल राईले गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउँदै कानुन र प्रक्रियाअनुसार राज्य सञ्चालन भइरहेको छ कि व्यक्तिगत प्रभावका आधारमा भन्ने विषयमा गम्भीर प्रश्न उठेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीति राज्य सञ्चालनको जिम्मेवारी भएकाले राजनीतिक नेतृत्व नागरिकका पीडाप्रति संवेदनशील र राज्यका संस्थाप्रति जिम्मेवार हुनुपर्ने बताए ।
‘राजनीति सिकाउने अधिकार सबैलाई छ। तर राजनीति सिकाउने पहिलो पाटो कम्तीमा नागरिकका पीडामा संवेदनशील हुनु, संसद्को मर्यादा बुझ्नु, संस्थाको सम्मान गर्नु, आफ्नो कमजोरी स्वीकार गर्नु र गल्ती हुँदा सच्याउनु हो उनले भने।
राईले राजनीति सामाजिक सञ्जालमा स्टाटस लेख्ने विषय मात्रै नभएको भन्दै राज्य सञ्चालनसँग जोडिएको गम्भीर जिम्मेवारी भएको बताए।
उनले गृह मन्त्रालय राज्यका सबैभन्दा संवेदनशील मन्त्रालयमध्ये एक भएको उल्लेख गर्दै कानुनको शासन र शान्ति सुरक्षा कायम गर्नु तथा नागरिकलाई राज्यप्रति सुरक्षित महसुस गराउनु गृह मन्त्रालयको मुख्य जिम्मेवारी भएको बताए।
‘पछिल्ला घटनाक्रम हेर्दा गम्भीर प्रश्न उठ्छ। गृह प्रशासन कानुन र प्रक्रियासम्मत चलिरहेको छ कि कसैको व्यक्तिगत प्रभाव र लहडका आधारमा चलिरहेको छ ?’ उनले प्रश्न गरे।
राईले गृह प्रशासनमा निश्चित समूहको प्रभाव रहेको भन्ने चर्चा बाहिर सुनिने गरेको समेत बताए। यद्यपि त्यस्ता समूहको नाम आफूले संसद्मा उल्लेख गर्न नचाहेको उनले स्पष्ट पारे।
‘बाहिर सुनिन्छ, निश्चित समूहहरूले गृह प्रशासन चलाइरहेका छन्। राज्यले नचिन्ने त्यस्ता समूहको नाम यहाँ उच्चारण गर्न चाहन्नँ,’ उनले भने।
प्रतिक्रिया