काठमाडौं । मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यादवको राजीनामा स्वीकृत गर्दै रिक्त मन्त्रालय सम्हाल्न सुनसरी–४ का सांसद दीपक साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै सरकारी प्रवक्ता एवं शिक्षामन्त्री उद्योगमन्त्री यादवको राजीनामा स्वीकृत भइसकेको औपचारिक जानकारी दिए। नयाँ मन्त्रीका रूपमा सिफारिस भएका सांसद साहको शपथग्रहण छिट्टै हुने प्रवक्ताको भनाइ छ।
बजारमा एलपी ग्यास अभाव चुलिइरहेका बेला मन्त्री यादवले केही दिनअघि ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनी दिएको अभिव्यक्ति विवादमा परेको थियो।
ग्यास आपूर्ति सहज बनाउन नसकेको र जिम्मेवार पदमा बसेर गैरजिम्मेवार टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना खेपेपछि उनले पदबाट राजीनामा बुझाएकी हुन्।
रिक्त उद्योग मन्त्रालयको जिम्मेवारी पाउन लागेका सांसद साह पेसाले इन्जिनियर हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई मन्त्री नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाइसकेका छन्।
प्रतिक्रिया