काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सातै प्रदेशका लागि निर्वाचन संयोजक तोकेको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनअन्तर्गतका विभिन्न तहका निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र सहजीकरण गर्न सात जना वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश संयोजकको जिम्मेवारी सुम्पिएका हुन्।
निर्वाचन समितिका अनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल र गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई संयोजक तोकिएको छ। त्यसैगरी, लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायले प्रदेश निर्वाचन संयोजकको जिम्मेवारी पाएका छन्।
समितिका संयोजक खड्काले बिहीबार वडादेखि जिल्ला तहसम्मका पार्टी संरचनाहरूलाई पत्राचार गर्दै केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतहरूसँग आवश्यक समन्वय गरी तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका छन्। निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार आगामी असोज ३ र ४ गते गाउँ तथा नगरका वडा अधिवेशनहरू सम्पन्न गर्ने समय तोकेको छ ।
त्यसैगरी, असोज ७ गते गाउँ तथा नगरपालिका अधिवेशन र असोज १० गते प्रदेश सभा क्षेत्रीय एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकिएको छ। पार्टीले यसअघि नै आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ भने जिल्ला र प्रदेश अधिवेशन भने १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि मात्र गरिने भएको छ।
प्रतिक्रिया