चेन्नई, भारत । दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार विजय, जसलाई ‘थलापति’ विजय भनेर चिनिन्छ, अब केवल सिनेमा उद्योगका लोकप्रिय अभिनेता मात्र रहेनन्। उनी अहिले तमिलनाडुको राजनीतिको केन्द्रबिन्दु बनेका छन् ।
दुई वर्षअघि मात्र स्थापना गरिएको उनको पार्टी तमिलागा वेत्रि कझगम (टीभीके) ले तमिलनाडु विधानसभा निर्वाचनमा अप्रत्यासित सफलता हासिल गरेपछि भारतीय राजनीतिमा नयाँ बहस सुरु भएको छ। दशकौँदेखि द्रविड राजनीतिक शक्तिहरूको प्रभुत्वमा रहेको राज्यमा विजयको उदयलाई केवल चुनावी परिणामका रूपमा मात्र होइन, सामाजिक–राजनीतिक परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ।
टीभीकेको अप्रत्यासित जित र गठबन्धन सरकार
२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टीभीकेले १०८ सिट जित्दै सबैभन्दा ठूलो दल बन्न सफल भयो। बहुमतका लागि आवश्यक ११८ सिट नपुगे पनि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई), मार्क्सवादी कम्युनिस्ट पार्टी (सीपीएम), भीसीके र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) लगायत दलहरूको समर्थनपछि विजय नेतृत्वको सरकार गठन सम्भव भयो।
समर्थनसँगै टीभीकेको पक्षमा १२१ सिट पुगेपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विशेष समारोहमा विजयले मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिँदा तमिलनाडुको राजनीतिमा नयाँ अध्याय सुरु भएको संकेत देखिएको छ।
द्रविड राजनीतिमा ऐतिहासिक धक्का
तमिलनाडुको राजनीति लामो समयदेखि डीएमके र एआईएडीएमकेको वरिपरि घुम्दै आएको थियो। सन् १९६७ पछि राज्यको सत्ता मूलतः यही दुई दलले पालैपालो सम्हाल्दै आएका थिए। तर यसपटकको निर्वाचनले पुरानो राजनीतिक संरचनालाई ठूलो चुनौती दिएको छ।
वर्तमान मुख्यमन्त्री एमके स्टालिन आफ्नै निर्वाचन क्षेत्रमा पराजित भए। सन् २०११ देखि लगातार जित्दै आएको कोलाथुर क्षेत्रमै उनको हारले डीएमकेको दीर्घकालीन प्रभावमाथि प्रश्न उठाएको छ।
विश्लेषकहरूका अनुसार विजयले युवापुस्ता, पहिलोपटक मतदान गर्ने मतदाता, महिला तथा श्रमिक वर्गलाई लक्षित गर्दै नयाँ राजनीतिक भाषा निर्माण गरेका थिए, जसले व्यापक प्रभाव पारेको देखिन्छ।
फिल्मी छविबाट राजनीतिक शक्ति
५१ वर्षीय विजय, वास्तविक नाम जोसेफ विजय चन्द्रशेखर, बालकलाकारबाट सुरु भएको करियरमा ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। ‘थलापति’ उपनामले चिनिने उनी १९९० र २००० को दशकमा रोमान्टिक नायकका रूपमा अत्यन्त लोकप्रिय बने।
पछि उनका चलचित्रहरू सामाजिक तथा राजनीतिक विषयमा केन्द्रित भए। भ्रष्टाचार, बेरोजगारी, शिक्षा र जनअधिकारजस्ता विषयले उनलाई राजनीतिक रूपमा पनि स्थापित गर्न मद्दत गर्यो।
विशेषगरी ‘सरकार’ फिल्ममा उठाइएको मतदान अधिकार र राजनीतिक उत्तरदायित्वको सन्देश अहिले उनको राजनीतिक यात्रासँग जोडेर हेरिएको छ।
संगठन निर्माण र राजनीतिक प्रवेश
राजनीतिमा आउनुअघि विजयले आफ्ना फ्यान क्लबलाई सामाजिक सेवासँग जोड्दै रक्तदान, राहत वितरण, विपद् सहयोग र शैक्षिक सहायता जस्ता गतिविधि सञ्चालन गरेका थिए। यही सञ्जाल पछि राजनीतिक संगठनको आधार बन्यो।
फेब्रुअरी २०२४ मा स्थापना गरिएको टीभीकेले छोटो समयमै जिल्ला स्तरदेखि बुथ स्तरसम्मको संगठन निर्माण गर्दै बलियो संरचना तयार गर्यो। सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र युवालाई केन्द्रमा राखिएको अभियानले पार्टीलाई जनस्तरसम्म पुर्यायो।
उच्च मतदान र परिवर्तनको संकेत
निर्वाचनमा ८४ प्रतिशतभन्दा बढी मतदान हुनु उल्लेखनीय मानिएको छ। विश्लेषकहरूका अनुसार यो उच्च सहभागितामा ‘नयाँ विकल्प’को खोजी प्रमुख कारण रहेको मानिन्छ।
विजयले पारम्परिक गठबन्धन राजनीतिलाई अस्वीकार गर्दै स्वतन्त्र राजनीतिक पहिचान निर्माण गरे। उनले भाजपा र डीएमकेलाई स्पष्ट रूपमा राजनीतिक प्रतिस्पर्धीका रूपमा परिभाषित गरेका थिए।
एमजीआर–जयललितापछिको नयाँ अध्याय
तमिलनाडुमा सिनेमा र राजनीतिबीचको सम्बन्ध ऐतिहासिक छ। एमजी रामचन्द्रन र जयललिताजस्ता फिल्मी व्यक्तित्वहरूले राज्य राजनीति लामो समय नेतृत्व गरेका थिए। विजयको उदयलाई त्यही परम्पराको नयाँ संस्करणका रूपमा विश्लेषण गरिएको छ।
तर उनको शैली संगठनात्मक विस्तार, मुद्दामुखी अभियान र युवा केन्द्रित एजेन्डामा आधारित देखिन्छ।
राष्ट्रिय प्रभाव र भविष्यको चुनौती
विजयको उदयले भारतीय राष्ट्रिय राजनीतिमा पनि प्रभाव पारेको छ। परम्परागत दलप्रतिको असन्तुष्टि, सामाजिक सञ्जालमार्फत बनेको राजनीतिक चेतना र नयाँ नेतृत्वको खोजी यस परिणामका प्रमुख कारण मानिएका छन्।
अब सबैको ध्यान उनको सरकारको कार्यशैलीतर्फ केन्द्रित छ। चुनावी लोकप्रियतालाई प्रशासनिक सफलतामा रूपान्तरण गर्न सके उनी भारतीय राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने पात्र बन्न सक्छन्। तर असफल भए यो उदय क्षणिक पनि सावित हुन सक्छ।
तमिलनाडुको राजनीति अब पुरानै ढाँचामा सीमित रहने देखिँदैन। पर्दामा ‘जनताको नायक’ बनेका थलापति विजय अब वास्तविक सत्ताको केन्द्रमा पुगेका छन्, र उनको यात्राले भारतीय लोकतन्त्रमा नयाँ राजनीतिक अध्याय सुरु गरेको छ।
प्रतिक्रिया