शान्ता पाण्डे । सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न संघीय निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बनेका छन्। निर्वाचन क्षेत्रको भ्रमण अघि उनले भने, “म देशलाई जोड्न चाहन्छु, मधेशलाई विकाससँग जोड्न चाहन्छु।” उनका यी अभिव्यक्तिले सदियौदेखि केन्द्रीय राज्य सत्ताबाट टाढा पारिएको मधेशका जनतामा गतिलो साथ र सहयोगको अपेक्षा जगाएको छ।
गगन थापा नेपाली कांग्रेसको सभापतिमा उदाएका नयाँ नेता भने होइनन्। उनी राजनीति बुझ्ने, देशको कुन क्षेत्रको विकासका मोडालिटी आवश्यक छ भनी चिन्न सक्ने अनुभवी नेता हुन्।
सन् २०२६ को जनवरीमा, नेपाली कांग्रेसको आन्तरिक उथलपुथलका बीच गगन थापाले सभापतिको जिम्मेवारी लिए। युवा नेताहरूको एउटा समूहले पार्टीको पुरानो नेतृत्वविरुद्ध विद्रोह सुरु गर्दा, पार्टी सभापति शेरबहादुर देउवाजस्ता चतुर राजनीतिक खेलाडीसमेत प्रभावमा परे। यो थापाको राजनीतिक जीवनकै सबैभन्दा जोखमपूर्ण निर्णय थियो, जुन सफलतापूर्वक पूरा भयो।
४९ वर्षीय थापाको नेतृत्वमा नेपाली कांग्रेस निर्वाचनतर्फ अघि बढिरहेको छ। पार्टीले आफूभित्र आन्तरिक सुधार भइसकेको दाबी गर्दै सत्ता प्राप्त भएमा ती परिवर्तनलाई शासन सञ्चालनमा पनि लागू गर्ने प्रतिबद्धता जनाएको छ। गगन थापासँगै महामन्त्रीमा पराजित भएका डा. मिनेन्द्र रिजालले पनि यो नेतृत्वलाई नयाँ विचार र युवा नेतृत्वको समय आएको रूपमा मूल्याङ्कन गरेका छन्।
थापा पार्टीको आन्तरिक संघर्षमा पटक–पटक लडेका र जनमतबाट बारम्बार अनुमोदित भएर उदाएका नेता हुन्। वर्षौंदेखि स्थायी प्रतिपक्षका रूपमा चिनिएका उनले त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापतिको चुनाव जित्दा तत्कालिन संस्थापन पक्षले टिकट नदिएपछि बिद्रोह गरेर आफ्नो योग्यता प्रमाणित गरेका थिए।
नेपाली राजनीतिमा गगन थापा आशा, सम्भावना र बहस तीनै कुराको केन्द्रमा रहेका नेता हुन्। युवा पुस्ताका प्रतिनिधि मानिने उनी स्पष्ट वक्ता, नीतिगत बुझाइ र सुधारवादी सोचका कारण टिकेका छन्। परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले प्रश्न उठाउने, बहस गर्ने र प्रणाली सुधारको प्रस्ताव राख्ने शैलीले उनलाई पृथक पहिचान दिएको छ।
उनको मुख्य क्षमता राजनीतिक सूक्ष्मता, नेतृत्व कौशल र कूटनीतिमा निहित छ। पार्टीभित्र विभिन्न धार र अनुभवी नेताहरूबीच सन्तुलन कायम राख्ने क्षमता, संवाद र कूटनीतिक दक्षता उनको बलियो पक्ष हुन्। सामाजिक मुद्दा र राष्ट्रिय एकताको विषयमा उनी संवेदनशील र सक्रिय छन्, भूराजनीतिक प्रभावबारे बुझाइ राख्छन्।
गगन थापाको नेतृत्वले पार्टीमा नयाँ विचार र युवा सहभागिता प्रोत्साहित गरेको छ। उनले १०७ जना नयाँ र युवा उम्मेदवार तयार गरेर देशैभरि चुनावी माहोल सिर्जना गर्न सफल भएका छन्। चुनाव नजिकीदै गर्दा सुक्न लागेको रुखमा पनि पालुवा पाइएको छ, र निर्वाचनपछि पार्टी हरियाली हुने निश्चित छ।
चुनौतीपूर्ण परिस्थितिमा पनि योजना अनुरूप अघि बढ्ने क्षमताले उनलाई राष्ट्रिय स्तरमा प्रभावशाली नेता बनाएको छ।
उनको क्षमता नीति बुझ्ने र सरल भाषामा जनतासामु प्रस्तुत गर्नेमा देखिन्छ। संसदमा वा सार्वजनिक मञ्चमा, उनी भावनात्मक नाराभन्दा तथ्य र तर्कमा आधारित बहस रुचाउँछन्। स्वास्थ्य मन्त्रीका रूपमा उनले निःशुल्क औषधि वितरण र आधारभूत स्वास्थ्य सेवा (बिमा) विस्तारजस्ता कार्यक्रममार्फत कार्यान्वयन क्षमतावाला नेता भएको सन्देश दिएका थिए।
गगन थापाको भिजन व्यक्ति केन्द्रित राजनीतिभन्दा प्रणालीगत सुधारतर्फ केन्द्रित छ। कमजोर राज्य संरचना, जवाफदेहिता नहुने प्रशासन र दलभित्रको गुटबन्दी नै नेपालको मुख्य चुनौती हुन् भन्ने उनको ठम्याइ छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रमा राज्यले डेलिभरी दिन नसकेको भन्दै स्पष्ट जिम्मेवारी लिनुपर्छ भन्ने उनको सोच छ।
साथै, उनले सूचना प्रविधि (आईटी) र नवप्रवर्तनलाई कृषि, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिएका छन्। यसले उत्पादकता, दक्षता, रोजगारी र राष्ट्रिय आम्दानीमा योगदान पुर्याउने थापाको विश्वास छ।
गगन थापाले रेमिट्यान्समा अत्यधिक निर्भरता घटाएर दीर्घकालीन विकासका लागि वैकल्पिक आम्दानी स्रोत विकास आवश्यक ठानेका छन्। नेपाली अर्थतन्त्रलाई उत्पादनमूलक, नवप्रवर्तनमूलक र समावेशी बनाउने उनका लक्ष्य दीर्घकालीन रूपमा आत्मनिर्भरता सुनिश्चित गर्ने खालका छन्।
विशेषगरी, नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र बलियो नभएसम्म देशमा सार्थक परिवर्तन सम्भव छैन भन्ने धारणा उनको राजनीतिक दृष्टिकोणको महत्वपूर्ण अंश हो।
यद्यपि, उनको यात्रामा चुनौती र आलोचना पनि छन्। राष्ट्रिय स्तरको निर्णायक नेतृत्वमा अझै ठोस परिणाम निकाल्न बाँकी छ। देश बदल्ने जिम्मेवारी सर्लाहीका जनतामा आएको छ। गगन थापाको भिजनलाई देशमा स्थापित गर्न, उनको जित अनिवार्य शर्त हो।
सर्लाहीबाट प्रतिनिधित्व गर्ने गगन थापा प्रधानमन्त्री भएमा मधेश प्रदेशका जनताका लागि नयाँ आशा र सम्भावना खुल्ने छन्। प्रदेशको समग्र विकास, पूर्वाधार सुधार र राजनीतिक प्रतिनिधित्वमा सन्तुलन ल्याउने उनको आगमनले मधेशमा स्वास्थ्य सेवामा गुणस्तर सुधार, जनजाति, भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समेत योगदान पुर्याउनेछ।
प्रधानमन्त्री गगन थापाले मधेशका समस्याहरू र प्राथमिकताहरू केन्द्र सरकारमा प्रभावकारी रूपमा राख्न सक्नेछन्, जसले दीर्घकालीन विकासको मार्ग प्रशस्त गर्न सक्ने अपेक्षा गरिएको छ।
अन्ततः, गगन थापा क्षमता र भिजन दुवै भएका नेता हुन् भन्नेमा ठूलो विवाद छैन। तर नेपाली राजनीतिमा भिजन मात्र पर्याप्त हुँदैन; जनताको दृढ साथ चाहिन्छ। सर्लाहीका मतदाताले अब निर्णायक भूमिका निर्वाह गर्नेछन्।
(लेखिका नेपाल तरुण दलकी केन्द्रीय सदस्य हुन्)
प्रतिक्रिया