इटालीको दक्षिणी क्षेत्र नेपल्स नजिकै फाइटो पर्वतमा एक केबलकार दुर्घटनामा परेर चार जना पर्यटकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आपतकालीन सेवाहरुले जनाएअनुसार केबलकारको एक क्याबिन पहाडबाट तल खस्दा उक्त दुर्घटना भएको हो। गम्भीर घाइते भएकालाई हेलिकप्टरमार्फत अस्पताल पुर्याइएको छ।
इटालीय मिडियाहरुका अनुसार केबलकार पहाडको लगभग शिखरतिर पुगेको बेलामा त्यसलाई समर्थन गर्ने केबलमध्ये एक चुँडिएको थियो।
त्यस समय अर्को क्याबिन पनि लाइनमा रहेको थियो तर त्यो भ्यालीको तल्लो भागमा रहेको हुँदा १६ जनालाई सकुशल उद्धार गरिएको छ।
क्षेत्रीय अध्यक्ष भिन्चेन्जो दे लुकाले सबै पीडित पर्यटक रहेको पुष्टि गरेका छन्। उनले खराब मौसम, कुहिरो, हावा र वर्षाका कारण उद्धार कार्य कठिन भइरहेको बताएका छन्।
स्थानीय मिडियाका अनुसार केबल चुँडिनु भन्दा अघि उक्त क्याबिन धेरै ढल्किएको भागमा यात्रा गरिरहेको थियो। फाइटो पर्वत समुद्री सतहदेखि झण्डै १,१०० मिटर माथि रहेको छ।
दुर्घटना भएको स्थान कास्टेल्लामारे दी स्टाबियाका मेयरले “संभवत: ट्र्याक्सन केबल चुँडिएको” विश्वास व्यक्त गरेका छन्। उनले भने, “तलतिर आपतकालीन ब्रेकले काम गर्यो तर शिखरतर्फ पुग्न लागेको क्याबिनको ब्रेकले चाहिँ स्पष्ट रूपमा काम गरेन।”
उनका अनुसार तीन किलोमिटर लामो सो केबलकार लाइनमा नियमित सुरक्षा परीक्षण हुँदै आएको थियो।
सेवा सञ्चालन गर्ने कम्पनी EAV सार्वजनिक यातायात फर्मले सामाजिक सञ्जालमार्फत यस घटनालाई “एक त्रासदी” भन्दै समवेदना व्यक्त गरेको छ।
प्रतिक्रिया