लण्डन । नेपाली कांग्रेस पार्टीका पूर्व सभापति र नेपाल सरकारका पूर्व प्रधानमन्त्री, सादगीपूर्ण नेता स्वर्गीय सुशील कोइरालाको १०औं स्मृति दिवस र प्रजातन्त्र दिवसको अवसरमा नेपाली जनसम्पर्क समिति युके ले गत २३ फेब्रुअरी २०२३ (आइतबार) मा लन्डनस्थित लिटल काठमाडौं, २४ क्याल्डरवुड स्ट्रिटमा भव्य कार्यक्रम आयोजना गरेको थियो। यस कार्यक्रम नेपाली जनसम्पर्क समिति युके का सभापति युवराज सिंहको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि रूपमा डा. धर्म थापा उपस्थित हुनुहुन्थ्यो। विशेष अतिथि कांग्रेस नेता भोज कुमार गुरुङ र उपसभापति असल लिम्बुको उपस्थिति कार्यक्रमको गरिमा बढाएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव कुश बस्नेतद्वारा गरिएको थियो।
उपसभापति असल लिम्बुले कार्यक्रममा संगठनको महत्त्व र यसले नेपाली समुदायमा पुर्याउने योगदानका बारेमा चर्चा गर्नुभएको थियो। प्रमुख वक्ताका रूपमा महामन्त्री बिनय दाहाल र सह महामन्त्री सुरेन्द्र गुरुङले स्व. कोइरालाको योगदान र नेपालको लोकतान्त्रिक इतिहासमा उहाँको महत्त्वमाथि गहिरो विचार प्रस्तुत गरे।
समारोहमा नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरू, राजनीतिक नेतृत्व, समाजसेवीहरू र लोकतन्त्रप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिन्थ्यो।
कार्यक्रममा स्वर्गीय कोइरालाको जीवन, लोकतन्त्र र शान्तिका लागि उहाँको संघर्ष, र नेपालको संविधान २०७२ मा उहाँको अतुलनीय योगदानको चर्चा गरिएको थियो। सहभागीहरूले स्व. कोइरालाको जीवनका प्रेरणादायक घटनाहरू सम्झँदै उहाँको सादगी, ईमानदारी र त्यागलाई सम्मानका साथ स्मरण गरे।
स्व. कोइरालाको सादगी र ईमानदारीमा आधारित राजनीतिक दर्शनलाई उजागर गर्दै उहाँलाई “शान्तिदूत” को रूपमा सम्झना गरिएको थियो। कार्यक्रममा युकेमा बसोबास गर्ने नेपालीहरूले लोकतन्त्र र राष्ट्रनिर्माणको महत्त्वमा जोड दिँदै एकताको सन्देशलाई अघि बढाए।
सभापति युवराज सिंहले स्व. कोइरालाको विरासतलाई कायम राख्ने अभियान र नेपाली लोकतान्त्रिक आन्दोलन तथा संविधान निर्माणमा उहाँले पुर्याएको योगदानको चर्चा गर्नुका साथै समुदायले निरन्तर साथ दिने आशा व्यक्त गरे।
उनले सबै सहभागीहरूलाई धन्यवाद दिँदै भविष्यमा यस्ता कार्यक्रमहरू अझ व्यापक रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको समापनमा उपस्थित सबैले स्व. कोइरालाको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जलि अर्पण गरे।
प्रतिक्रिया