गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)का अध्यक्ष महेशकुमार श्रेष्ठले संघको एकता महाधिवेशनबाट विधिवत निर्वाचित कार्यसमिति नै एकमात्र आधिकारिक कार्यसमिति भएको भन्दै कुनै पनि भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
एनआरएनए अमेरिकाद्वारा आइतबार अपरान्ह टेक्सास राज्यको डालसमा आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आफु नेतृत्वको कार्यसमितिसंग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो । काठमाडौँमा गत मे ३ र ४ तारिखमा संघको उच्चस्तरीय समितिले आह्वान गरेको एकता महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।
श्रेष्ठले भन्नुभयो, नेपाल सरकारका प्रतिनिधिहरुको रोहबरमा गराइएको निर्वाचनमा हामी निर्वाचित भए लगत्तै अर्को समूहले हाम्रो काम रोक्न मुद्दा हालेको थियो, तर सर्वोच्चले अन्तरिम आदेश दिएन, त्यसैले हामी नै आधिकारिक हौं ।
परराष्ट्र मन्त्रालयले आफु नेतृत्वको कार्यसमिति नै आधिकारिक कार्यसमिति हो भन्दै संसारभरि रहेका नेपाली कूटनीतिक नियोगहरुलाई पत्राचार गरिसकेको पनि उहाँले बताउनुभयो।
उहाँले सबै पक्षसँग सहमति र सहकार्यका लागि आफुहरु लचिलो भएर अघि बढ्ने बताउँदै भन्नुभयो, “हामीले झडपको अवस्था नचाहेकाले बालुवाटारस्थित संघको केन्द्रीय कार्यालय जान हतार गरेका छैनौं । तर, अब धेरै समय नकुर्ने र केन्द्रीय कार्यालय प्रवेश गर्ने प्रक्रियामा अघि बढ्ने छ ।”
अध्यक्ष श्रेष्ठले विभिन्न देशका एनसीसीहरूमा विवाद नल्याउन आग्रह पनि गर्दै केन्द्रको विवाद मिलाउन सजिलो छ, तर एनसीसीहरु विभाजित भए भने तिनको विवाद सुल्झाउन झनै कठिन हुन्छ भन्दै एनआरएनए अमेरिकालाई एकताको पहल गर्न र केन्द्रको विवाद समाधानमा समेत भूमिका खेल्न आग्रह पनि गर्नुभयो ।
उहाँले संस्थाभित्रको विवादले विदेशमा बस्ने नेपालीका मुद्दा प्रभावकारी रूपमा उठाउन नसकिएको स्वीकार गर्दै विवादका कारण हामीलाई हल्का रूपमा लिन थालिएको र विश्वसनियता हराउँदै गएको टिप्पणी गर्नुभयो ।
कार्यक्रमका सहभागीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिंदै अध्यक्ष श्रेष्ठले एनआरएन नागरिकताको कार्यान्वयन, लगानी अभिवृद्धि र नेपालको समृद्धिजस्ता विषय अगाडी बढाउन पनि संस्थालाई एकजुट बनाउनुको विकल्प नभएको जनाउनुभयो
प्रतिक्रिया