सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय नखुल्दै विवाद

  नेपाली सन्देश डट कम | ३ असार २०८२, मंगलवार ०७:०४

सान फ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा नेपाल सरकारले कन्सुलेट कार्यालय स्थापना गर्नुअघि नै कुटनीतिक कर्मचारी र स्थानीय व्यक्तिहरूबीच विवाद उत्पन्न भएको छ।

नयाँ कार्यालय स्थापनाका लागि अमेरिका पुगेका ऋषि राज आचार्य र देवदूत ढकालले गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका प्रमुख संस्थाहरूलाई समन्वयबिना कार्यक्रम आयोजना गर्न थालेपछि विवाद चुलिएको हो। उक्त घटनाबारे जानकारी दिंदै पत्रकार माधव मरासिनीले प्रारम्भिक चरणमै असमझदारी देखिएको बताए।

लक्ष्मण खनाल, ऋषि राज आचार्य र देवदूत ढकाललाई केही व्यक्तिहरुले समुदायको नाममा व्यक्तिगत लाभ लिन खोजेको आरोप लगाइएको छ। यही कार्यक्रममा सहभागी हुन नेपालबाट लक्ष्मण खनाल मंगलबार बिहान क्यालिफोर्निया पुग्ने तयारीमा छन्। तर, उनी अमेरिका नउत्रिँदै कार्यक्रमप्रति स्थानीय संघसंस्थाहरूले असहमति जनाएका छन्।

केही व्यक्तिहरु नीतिगत भ्रष्टाचारमा संलग्न हुने नियतले कूटनीतिक मर्यादा विपरीत स्थानीय भेटघाट कार्यक्रम गरिरहेको भन्दै क्यालिफोर्नियाका विभिन्न संघसंस्थाहरूले विरोध जनाएका छन्। कन्सुलेट कार्यालय स्थापनाअघि नै कार्यक्रम आयोजना गर्न थालेपछि विवाद झनै चर्किएको हो।

यसले सान फ्रान्सिस्कोमा कन्सुलेट कार्यालय स्थापनामा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

नेपाल सरकारले अमेरिकास्थित नेपाली समुदायको हित संरक्षण एवं प्रवर्द्धन गर्नुका साथै व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन कन्सुलेट कार्यालय स्थापनालाई प्राथमिकता दिएको हो।

तर, परराष्ट्र मन्त्रालयसँग आबद्ध गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्—क्यालिफोर्निया च्याप्टरको औपचारिक प्रक्रियालाई बेवास्ता गरी केही व्यक्तिले अघि बढाएको कार्यक्रममा सहभागी भएपछि कूटनीतिक कर्मचारीहरू विवादमा तानिएका हुन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?