काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न संशोधित कार्यतालिकाको तयारी अन्तिम चरणमा पुर्याएको छ। पार्टी सभापति गगन थापा र केन्द्रीय निर्वाचन समितिबीच भएको विस्तृत छलफलपछि अधिवेशनका सम्भावित मितिहरू तय गरिएको हो।
प्राप्त जानकारीअनुसार हिमाली जिल्लाहरूमा आगामी मङ्सिर २४ र २५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ। त्यस्तै, बाँकी जिल्लाहरूमा पुस ४ र ५ गते अधिवेशन सम्पन्न गर्ने गरी आन्तरिक तयारी अघि बढाइएको छ।
मौसमको प्रतिकूलता तथा उच्च हिमाली क्षेत्रमा हुन सक्ने भारी हिमपातलाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मङ्सिर महिनाभित्रै सम्पन्न गर्ने योजना बनाइएको सभापति थापाले बताएका छन्।
अन्य जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन सञ्चालन गरिने तयारी छ। यद्यपि, कुनै विशेष परिस्थिति वा भौगोलिक कठिनाइ उत्पन्न भएमा सम्बन्धित जिल्ला कार्यसमितिसँगको समन्वय र परामर्शमा केन्द्रीय निर्वाचन समितिले अधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सक्ने व्यवस्था पनि राखिएको छ।
यसैगरी, नेपाली कांग्रेसले प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ। सातवटै प्रदेशको अधिवेशन एउटै दिनमा नगरी एकदेखि दुई दिनको अन्तरालमा सञ्चालन गर्ने योजना बनाइएको सभापति थापाले स्पष्ट पारेका छन्।
प्रदेश अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भई सम्बोधन तथा आवश्यक समन्वय गर्ने कार्यक्रम रहेकाले प्रदेशअनुसार फरक–फरक मिति निर्धारण गर्न लागिएको जनाइएको छ।
जिल्ला तथा प्रदेश अधिवेशनका मितिहरूको औपचारिक टुङ्गो भने केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला र प्रदेश समितिहरूसँग अन्तिम चरणको परामर्श पूरा गरेपछि लगाउनेछ। सबै अधिवेशनको संशोधित कार्यतालिका भोलिसम्म सार्वजनिक गर्ने तयारी रहेको सभापति थापाले बताएका छन्।
यसअघि पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति तथा संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै कांग्रेसले सांगठनिक गतिविधिलाई तीव्रता दिएको छ।
पार्टीले देशभरका ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने तथा जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।
जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न भएपछि पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने कांग्रेसको तयारी छ।
प्रतिक्रिया