झापा । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रका नेताहरूलाई मनाउने प्रयासभन्दा अब जनताको मन जित्ने अभियानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई गाउँ–गाउँ र घर–घरमा पुगेर जनताको विश्वास जित्ने अभियानमा सक्रिय हुन आग्रह गरेका छन्।
झापा क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल गाउँपालिका–७ मा सहिद स्व. चन्द्रमणि भट्टराईको सालिकमा माल्यार्पण गरेपछि आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै शर्माले पार्टीको असन्तुष्ट पक्षलाई पटक–पटक आग्रह गर्दा पनि सहमतिमा आउन नसकेको उल्लेख गरे।
‘उहाँहरूलाई धेरै आग्रह गरियो, तर मान्नुभएन। अब नेता फकाउँदै हिँडिँदैन, गाउँमा गएर जनता फकाउने हो शर्माले भने । उनले अब पार्टीको ध्यान आन्तरिक विवाद र नेताहरूलाई मनाउने कार्यमा सीमित नराखी जनतालाई कांग्रेसका नीति, कार्यक्रम र उद्देश्यबारे बुझाउन केन्द्रित हुनुपर्ने बताए। कांग्रेस जनताको घरदैलोसम्म पुगेर उनीहरूको समस्या बुझ्ने र समाधानका लागि काम गर्ने अभियानमा लाग्नुपर्ने उनको भनाइ थियो।
शर्माले पुरानो प्रतिनिधिसभा पुनःस्थापित नभएझैँ नेपाली कांग्रेसको पुरानो कार्यसमिति पनि पुनःस्थापित नहुने स्पष्ट पार्दै कार्यकर्तालाई कुनै पनि भ्रम र अन्योलमा नपर्न आग्रह गरे । उनले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने लक्ष्यसहित अहिलेदेखि नै जनताको मन जित्ने काममा लाग्नुपर्ने बताए। त्यसका लागि सामाजिक सेवामूलक गतिविधि, विकास निर्माण तथा जनताको दैनिक जीवनमा आइपर्ने समस्यामा सहयोगी बनेर पार्टीले आफ्नो उपस्थिति देखाउनुपर्नेमा उनले जोड दिए ।
निर्वाचनमा व्यक्तिगत स्वार्थभन्दा पार्टीको जितलाई प्राथमिकता दिनुपर्ने बताउँदै शर्माले योग्य र जित्न सक्ने उम्मेदवारलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे।
‘आफूभन्दा कोही राम्रो र जित्ने उम्मेदवार छ भने उसैलाई बोकेर हिँडौँ र चुनाव जिताऔँ उनले कार्यकर्तालाई आग्रह गरे। नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला झापा आइपुगेका शर्माले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय गरेका छन् ।
महाधिवेशनबाट गगनकुमार थापाको सभापतित्वमा नयाँ नेतृत्व चयन भएसँगै नेपाली कांग्रेस नयाँ सोच र ऊर्जासहित अघि बढेको शर्माले दाबी गरे। राजनीतिमा जनताको मन र मत दुवै जित्न त्याग, समर्पण र फराकिलो सोच आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए।
उनले देशलाई समुन्नतिको बाटोमा अघि बढाउने र जनतामा देखिएको निराशा हटाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने धारणा राखे। कांग्रेस अब भाषण र प्रतिबद्धतामा मात्र सीमित नभई व्यवहारमै सुधार गर्दै जनताको घरदैलो र तल्लो तहसम्म फर्किएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले पनि पार्टीको १५औँ महाधिवेशनबाट गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्व स्थापित भएसँगै कांग्रेसमा नयाँ उत्साह, ऊर्जा र आशा पैदा भएको बताए।
उनले नयाँ नेतृत्वको भावना र उद्देश्यअनुसार पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया