दशौँ राष्ट्रिय खेलकुदको सुरक्षामा दुई हजार सुरक्षाकर्मी परिचालन गरिने, १५ खेलस्थलमा सीसीटीभी निगरानी

  नेपाली सन्देश डट कम | १४ मंसिर २०८३, आईतवार १८:३८

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न प्रदेश सरकारले सुरक्षा तयारी तीव्र पारेको छ। प्रतियोगिताको समग्र सुरक्षा व्यवस्थापनका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ।

आगामी मंसिर १६ गते प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने प्रतियोगिताको भव्य उद्घाटन समारोहदेखि प्रतियोगिताको अन्तिम दिनसम्म सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रदेश सरकारले विशेष सुरक्षा योजना तयार पारेको हो।

यसैक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा प्रदेश सुरक्षा समितिको उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा प्रतियोगिताको उद्घाटन समारोहको सुरक्षा, १५ वटा खेलस्थलको निगरानी, खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको आवास र आवागमनको सुरक्षा, विशिष्ट पाहुनाको सुरक्षा, दर्शक व्यवस्थापन, यातायात तथा ट्राफिक नियन्त्रणलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

प्रतियोगिताका क्रममा आउन सक्ने सम्भावित सुरक्षा चुनौती पहिचान गरी समयमै रोकथाम तथा नियन्त्रण गर्न आवश्यक रणनीति अपनाउने विषयमा समेत बैठकले विशेष जोड दिएको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार प्रतियोगिताको सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ। प्रदेशमा उपलब्ध कुल सुरक्षा जनशक्तिमध्ये करिब ७० प्रतिशत जनशक्ति प्रतियोगिताको सुरक्षा व्यवस्थापनमा केन्द्रित गरिने तयारी गरिएको उनले जानकारी दिए।

त्यसैगरी, कुनै अप्रिय घटना वा आकस्मिक परिस्थिति उत्पन्न भए तत्काल परिचालन गर्न सकिने गरी रिजर्भ टोलीसमेत तयारी अवस्थामा राखिनेछ।

प्रतियोगिताअन्तर्गत सञ्चालन हुने १५ वटै मुख्य खेलस्थलमा सीसीटीभी क्यामेरामार्फत निगरानी गरिनेछ। खेलस्थलको सुरक्षा जाँच, नियमित गस्ती तथा शंकास्पद गतिविधिमाथि निगरानी राख्न छुट्टाछुट्टै विशेष टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ।

खेलाडी तथा अफिसियलहरू बसोबास गर्ने होटल र आवास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनुका साथै विशिष्ट पाहुनाहरूको सुरक्षाका लागि विशेष एस्कर्टिङ तथा होटल गार्डको व्यवस्था गरिने जनाइएको छ।

उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित देशका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने भएकाले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालाको प्रवेश तथा निकास मार्ग, पार्किङ व्यवस्थापन र आसपासको ट्राफिक नियन्त्रणलाई विशेष प्राथमिकतामा राखिएको छ। देशका विभिन्न भागबाट ठूलो संख्यामा दर्शक आउने अपेक्षा गरिएकाले भीड व्यवस्थापनका लागि पनि छुट्टै सुरक्षा योजना बनाइएको छ।

बैठकले प्रतियोगिता अवधिभर सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय, द्रुत सूचना आदानप्रदान र आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ।

प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, विशिष्ट पाहुना तथा दर्शकले कुनै पनि प्रकारको डर र त्रासबिना खेलकुद गतिविधिमा सहभागी हुन सक्ने सुरक्षित वातावरण निर्माण गर्नु सुरक्षा व्यवस्थापनको मुख्य उद्देश्य रहेको प्रदेश सरकारले जनाएको छ।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा देशका सातवटै प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टोलीको सहभागिता रहनेछ।

राष्ट्रिय खेलकुदको आयोजना कर्णालीका लागि खेलकुद विकास, पर्यटन प्रवर्द्धन र प्रदेशको पहिचान स्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ। त्यसैले प्रतियोगिता सफल बनाउन पूर्वाधार, व्यवस्थापन र सुरक्षाका सबै पक्षलाई चुस्त बनाउने तयारी गरिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.