नेपालमा पहिलो पटक एनआरएन महिला सम्मेलन हुने

  नेपाली सन्देश डट कम | ४ मंसिर २०८३, बिहीबार १६:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहिलो महिला सम्मेलन सन् २०२७ को जनवरी पहिलो साता (वि.सं. २०८३ पुस २० गते) काठमाडौंमा आयोजना हुने भएको छ। ‘महिला सशक्तीकरणको आधारः रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने संघले जनाएको छ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको दुई दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो। विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका विभिन्न क्षेत्रमा क्रियाशील महिलालाई एउटै मञ्चमा जोड्दै अनुभव, ज्ञान र सीप आदानप्रदान गर्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको छ। साथै, महिला सशक्तीकरणका क्षेत्रमा विद्यमान नीतिगत, कानुनी तथा व्यावहारिक चुनौती पहिचान गरी तिनको समाधानका लागि आवश्यक पहल र कार्यदिशा तय गर्ने लक्ष्यसमेत राखिएको छ।

संघले बिहीबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला सशक्तीकरणसँग प्रत्यक्ष सरोकार राख्ने चारवटा प्रमुख विषयगत क्षेत्रमा केन्द्रित रहेर बृहत् छलफल, कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया सञ्चालन गरिने जानकारी दिएको हो।

सम्मेलनमा महिला सशक्तीकरणसँग सम्बन्धित विद्यमान ऐन, निर्देशिका, नीति तथा संस्थागत संरचनाको समीक्षा गर्दै तिनमा रहेका चुनौती र सुधारका सम्भावित क्षेत्रबारे छलफल गरिनेछ। विशेषगरी डायस्पोरामा रहेका नेपाली महिलाका अधिकार, अवसर तथा आवश्यक कानुनी सुधारका विषयलाई प्राथमिकताका साथ उठाइनेछ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले सम्मेलनमा सहभागी हुन विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरे। उनले संघले क्षेत्रीय सम्मेलन, दोस्रो पुस्तासम्बन्धी सम्मेलन तथा स्वास्थ्य सम्मेलनसमेत आयोजना गर्न लागेको जानकारी दिए।

सम्मेलनमा वैदेशिक रोजगारीमा जानुअघिको तयारी, गन्तव्य मुलुकमा महिलाको सुरक्षा, अधिकार तथा मानसिक स्वास्थ्यका सवाल र स्वदेश फर्किएपछि सम्मानजनक पुनःएकीकरणका विषयमा छलफल गरिनेछ। यस क्रममा गैरआवासीय नेपाली संघको भूमिका र आवश्यक सहकार्यका क्षेत्रसमेत पहिचान गरिनेछ।

त्यसैगरी, स्वदेश तथा विदेशमा रहेका नेपाली महिला उद्यमीबीच व्यावसायिक साझेदारी र सहकार्य विस्तार, वित्तीय स्रोत तथा प्रविधिमा पहुँच अभिवृद्धि र महिला उद्यमशीलताको विकासका विषयमा छलफल हुनेछ। नेपाली मौलिक उत्पादनको उत्पादन, प्रवर्द्धन, बजारीकरण तथा अन्तर्राष्ट्रिय निर्यातमा महिलाको सहभागिता विस्तार गर्ने सम्भावनाबारे पनि विमर्श गरिनेछ।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीलगायत प्राकृतिक विपद् तथा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेका प्रभाव, जलवायु न्याय तथा विपद् व्यवस्थापनमा महिलाको भूमिकाबारे पनि छलफल गरिनेछ। यसका साथै लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध महिला र बालबालिकाको सुरक्षा एवं संरक्षणका विषयलाई समेत प्राथमिकता दिइने संघले जनाएको छ।

महिला सशक्तीकरणबिना राष्ट्रको दिगो तथा समावेशी समृद्धि सम्भव नहुने मान्यतासहित आयोजना हुन लागेको सम्मेलनले स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपाली महिलाका प्रेरणादायी अनुभव र सफलताका कथालाई उजागर गर्ने अपेक्षा गरिएको छ।

यसका साथै नेपालका सातै प्रदेश तथा स्थानीय तहमा क्रियाशील महिला उद्यमीलाई पुँजी, सीप, प्रविधि र बजारसँग जोड्ने महत्वपूर्ण सेतुका रूपमा सम्मेलनले भूमिका निर्वाह गर्ने विश्वास संघले लिएको छ।

पत्रकार सम्मेलनमा संघकी महिला उपाध्यक्ष टिका गुरुङ, उपाध्यक्ष रोजिना प्रधान राई तथा महिला संयोजक रश्मी थापाले सम्मेलनको उद्देश्य, तयारी र महत्वबारे आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

Selected poll is not defined.