काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको लो स्कोरिङ खेलमा बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित सुदूरपश्चिम रोएल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्स १९.५ ओभरमा ९३ रनमै समेटिन पुग्यो।
यस जितसँगै ६ खेलमा चौथो सफलता हात पारेको सुदूरपश्चिम ८ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ र प्लेअफ प्रवेशको सम्भावनालाई बलियो बनाएको छ।
समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानको काठमान्डु गोर्खाजभन्दा पछि छ। अर्कोतर्फ, पहिलो संस्करणको च्याम्पियन जनकपुरको ६ खेलमा यो चौथो हार हो। चार अंकसहित पाँचौँ स्थानमा रहेको जनकपुरको यस हारसँगै प्लेअफ यात्रा कठिन बन्दै गएको छ।
सुदूरपश्चिमविरुद्धको सामान्य लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि तृत राज दासले २१, जिमी निशमले २० र आदित्य महताले १० रन बनाए। त्यस्तै, ११औँ नम्बरमा क्रिजमा आएका बलर राहुल यादवले पनि ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।
इनिङ्सको सुरुवात गरेका अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हर्मीत सिंह ४ र अभिषेक तावरी २ रनमा आउट भए भने ललित राजवंशी शून्य रनमा पेभेलियन फर्किए। जनकपुरको इनिङ्समा नवौँ विकेटका लागि जिमी निशम र ललित राजवंशीले बनाएको २० रनको साझेदारी नै टिमको सबैभन्दा ठूलोजोडी बन्यो।
सुदूरपश्चिमको कसिलो बलिङसामु जनकपुरलाई धराशयी बनाउन स्कट कुगेलेइनले ३ तथा हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १–१ विकेट हात पारे।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिखेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रनको योगफल तयार पारेको थियो। सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए।
यसैगरी थरिन्दु रत्नायकेले २८ बलमा १ चौका र २ छक्कासहित अविजित २७ रन जोडे भने आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १०–१० रन जोडे।
सुदूरपश्चिमका लागि ओपनरद्वय जैब र भण्डारीले पहिलो विकेटका लागि बनाएको २२ रनको साझेदारी नै इनिङ्सको सर्वोच्च साझेदारी रह्यो। त्यसपश्चात नियमित अन्तरालमा विकेट गुमाउँदा टिमले ठूलो स्कोर बनाउन सकेन।
जनकपुरका लागि कप्तान हर्मीत सिंहले किफायती बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। साथै हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान १–१ विकेट बाँडे। आयरल्यान्डका स्टार खेलाडी हेरी टेक्टरले अत्यन्त किफायती बलिङ गर्दै ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिएर उत्कृष्ट प्रदर्शन गरे।
प्रतिक्रिया