यमपञ्चकको तेस्रो दिन आज गाईपूजा गरी मनाइँदै

  नेपाली सन्देश डट कम | २४ कार्तिक २०८३, सोमबार ०६:४५

काठमाडौं। तिहार अर्थात् यमपञ्चकको तेस्रो दिन आज हिन्दू धर्मावलम्बीहरूले घरघरमा गाईको पूजाआजा गरी मीठा परिकार खान दिएर गाईपूजा मनाउँदैछन्।

सनातन हिन्दू धर्ममा गाईलाई अत्यन्त पवित्र र पूजनीय जनावरका रूपमा लिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो मानिने भएकाले उनलाई ‘गौमाता’का रूपमा सम्मान गर्ने परम्परा रहेको छ। दूध, गोबर र गहुँतजस्ता बहुउपयोगी वस्तु प्राप्त हुने भएकाले पनि धार्मिक, सांस्कृतिक तथा कृषि जीवनमा गाईको विशेष महत्त्व रहिआएको छ।

धार्मिक मान्यताअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खुवाउँदा पुण्य प्राप्त हुने र घरमा समृद्धि छाउने विश्वास गरिन्छ। नेपालका कतिपय क्षेत्र र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन (लक्ष्मीपूजाको बिहान) गाईपूजा गर्ने परम्परा भए पनि शास्त्रानुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गर्ने विधान छ।

वैदिक वैदिक परम्परामा विभिन्न धार्मिक तथा पितृ कार्यहरूमा गाईदान गर्ने विधान भए पनि पछिल्लो समय गाईको सहज उपलब्धता नहुँदा सङ्कल्प गरेर नगद राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतम बताउँछन्।

नेपालको राष्ट्रिय जनावरसमेत रहेको गाईको तिहारका अवसरमा सम्मानपूर्वक पूजा गरिन्छ। आजका दिन पूजा गरी जनैपूर्णिमा (साउन शुक्ल पूर्णिमा) का दिन दाहिने हातमा बाँधिएको डोरो वा रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् वैतरणी नदी सजिलै पार भइने धार्मिक जनविश्वास रहिआएको छ।

यमपञ्चकका क्रममा भोलि कात्तिक २४ गते चौथो दिन हलौहले गोरुको पूजा (गोवर्द्धन पूजा) तथा नेवार समुदायमा नेपाल संवत् ११४७ को नयाँ वर्षको स्वागतका साथै आत्मपूजा (म्हा पूजा) मनाइँदैछ। त्यस्तै कात्तिक २५ गते दिदीबहिनी र दाजुभाइबीचको स्नेहको प्रतीक भाइटिका मनाएसँगै यस वर्षको तिहार समापन हुनेछ।

प्रतिक्रिया

Selected poll is not defined.