तथ्यमा आधारित सूचना मात्रै प्रचार गर्न नेकपाको निर्देशन

  नेपाली सन्देश डट कम | ८ कार्तिक २०८३, शनिबार १६:४२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको प्रचार तथा डिजिटल सञ्चार प्रणालीलाई व्यवस्थित बनाउँदै सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने भएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हालै जारी गरेको सर्कुलरमा पार्टीको प्रचार प्रणालीलाई एकरूप र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

पार्टीले सञ्चालन गर्न लागेको दुईमहिने अभियानलाई प्रभावकारी बनाउन सबै तहका पार्टी कमिटीले आधिकारिक डिजिटल सञ्चार माध्यम व्यवस्थित गर्नुपर्ने सर्कुलरमा उल्लेख छ। अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्न पनि निर्देशन दिइएको छ ।

सर्कुलरअनुसार सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत उपयुक्त सञ्चार माध्यमको प्रभावकारी उपयोग गरिनेछ। पार्टीका आधिकारिक सामग्रीलाई एकरूपता र विश्वसनीयताका साथ जनतामाझ पुर्‍याउने तथा तथ्यहीन, भ्रमपूर्ण वा गलत सूचनाको तथ्यगत रूपमा खण्डन गर्ने व्यवस्था मिलाइने उल्लेख छ ।

त्यस्तै, पार्टी सदस्यलाई पार्टीको नीति तथा आधिकारिक धारणा जनतासम्म पुर्‍याउने जिम्मेवारीबोध गराउनुपर्ने निर्देशन दिइएको छ। डिजिटल सञ्चारलाई अभियानको महत्त्वपूर्ण माध्यमका रूपमा उपयोग गर्दै पार्टीका गतिविधि र उपलब्धिबारे जनतालाई नियमित जानकारी गराउने नेकपाको योजना छ ।

नेकपाले अभियानका सबै कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक विधिअनुसार सञ्चालन गर्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ। व्यक्तिगत आरोप, चरित्रहत्या, अपुष्ट सूचना तथा तथ्यहीन प्रचारबाट बच्न पनि सर्कुलरमा भनिएको छ । जनताको विश्वास, सम्मान र गोपनीयता कायम राख्नुपर्नेमा जोड दिँदै पार्टीले अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने वा अनुचित प्रभाव प्रयोग गर्ने गतिविधि नगर्न निर्देशन दिएको छ । त्यसैगरी, पार्टीको आधिकारिक निर्णय तथा निर्देशनबाहेक संवेदनशील राजनीतिक विषयमा अनधिकृत अभिव्यक्ति नदिन पनि भनिएको छ। पार्टीका नेता तथा कार्यकर्ताले संगठनको आधिकारिक धारणा र निर्णयअनुसार आफ्ना अभिव्यक्ति तथा गतिविधि सञ्चालन गर्नुपर्ने सर्कुलरमा उल्लेख छ।

नेकपाले महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न निर्देशन दिएको छ। पार्टीको नीति, विधान तथा संगठनात्मक अनुशासनविपरीत गतिविधि भएमा सम्बन्धित तहलाई जानकारी गराउन पनि भनिएको छ।

दुईमहिने अभियानलाई प्रभावकारी बनाउन प्रचार तथा सञ्चार प्रणाली व्यवस्थित गर्ने, सामाजिक सञ्जालमार्फत आधिकारिक सूचना प्रवाह गर्ने र पार्टीका गतिविधिलाई जनतामाझ पुर्‍याउने रणनीति नेकपाले अघि सारेको छ।

प्रतिक्रिया

Selected poll is not defined.