जनताको आवाजका आधारमा नयाँ योजना बनाउने दाहाल

  नेपाली सन्देश डट कम | ८ कार्तिक २०८३, शनिबार १६:५२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन, समृद्धि र जनताका समस्या सम्बोधन गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताएका छन्।

दुईमहिने राष्ट्रिय जागरण अभियानबारे जानकारी दिँदै उनले पार्टी संगठन सुदृढीकरण, आगामी निर्वाचनको तयारी र जनजीविकाका सवाललाई एकीकृत रूपमा अघि बढाउने योजना रहेको बताए।

उनका अनुसार अभियानका क्रममा पार्टीका सबै केन्द्रीय नेताहरू जनतामाझ पुग्नेछन्। उनीहरूले जनताका कुरा सुन्ने, समस्या तथा सुझाव संकलन गर्ने र त्यसको प्रतिवेदन पार्टी केन्द्रमा बुझाउनेछन्। अभियान समापन भएपछि केन्द्रीय समितिको पूर्ण बैठक बसेर प्राप्त प्रतिवेदनको समीक्षा गरिने र त्यसका आधारमा आगामी योजना तथा कार्यक्रम निर्माण गरिने प्रचण्डले जानकारी दिए। यससम्बन्धी निर्णय केन्द्रीय संयोजन समितिमै गरिसकिएको उनले बताए।

पहिलो, पार्टी सदस्यता नवीकरण, संगठनात्मक समायोजन प्रक्रिया पूरा गर्ने र महाधिवेशनको तयारीलाई अन्तिम रूप दिने उद्देश्य रहेको उनले उल्लेख गरे। दोस्रो, आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी गर्नु अभियानको अर्को उद्देश्य रहेको उनको भनाइ छ। निर्वाचनको औपचारिक समयतालिका तय नभए पनि निर्वाचनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको उनले बताए । तेस्रो, राष्ट्रिय स्वाधीनता, जनजीविका, महँगी तथा विभिन्न वर्ग र समुदायका समस्याविरुद्ध जनतालाई जागरुक बनाउनु अभियानको उद्देश्य रहेको उनले स्पष्ट पारे।

उनले बाढीपहिरोबाट भएको जनधनको क्षति, प्रभावितको खोज तथा उद्धार, पुनःस्थापना र पुनर्निर्माणका कामलाई पनि अभियानसँग जोडिएको बताए। प्रभावित जनताको आवश्यकता र राज्यबाट हुनुपर्ने कामबारे जनगुनासो रहेको उल्लेख गर्दै उनले यस्ता समस्या तथा बेथितिविरुद्ध जनतालाई सचेत बनाइने बताए।

‘राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्ने जनताको सुशासन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने तथा लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्ने उद्देश्यसँग यो अभियान जोडिएको छ दाहालले भने । उनले पछिल्लो राजनीतिक परिस्थितिमा उठेका विभिन्न विषयलाई गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। अभियानमार्फत जनताको वास्तविक अवस्था बुझ्ने, पार्टीका कमजोरी पहिचान गर्ने र आगामी राजनीतिक कार्यदिशा तय गर्न आवश्यक सुझाव संकलन गरिने उनको भनाइ छ।

अभियानका क्रममा जनताबाट प्राप्त सुझाव र प्रतिवेदनका आधारमा पार्टीले आगामी रणनीति बनाउने जानकारी दिँदै राष्ट्रिय स्वाधीनता, जनजीविका र परिवर्तनका उपलब्धिको रक्षालाई प्राथमिकतामा राखिने उनको भनाइ छ।

प्रतिक्रिया

Selected poll is not defined.