राष्ट्रियता र संविधान संरक्षण हाम्रो प्राथमिकता हो : माधव नेपाल

  नेपाली सन्देश डट कम | ८ कार्तिक २०८३, शनिबार १६:४७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षालाई उच्च प्राथमिकता दिएर पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताएका छन्।

उनले इतिहासमा खेलेको गौरवशाली भूमिकाको सम्मान नगर्नेले नयाँ इतिहास निर्माण गर्न नसक्ने बताए । पुर्खाहरूले खेलेको भूमिकाको सम्मान गर्न नसक्नेले सम्मानजनक कृति कायम गर्न नसक्ने उनको भनाइ छ।

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियानका सन्दर्भमा बोल्दै नेपालले पछिल्लो समय विभिन्न नयाँ भाष्य सुनिने गरेको र त्यसको सत्यतथ्य पहिचान नगरी त्यसकै पछि लाग्ने प्रवृत्ति देखिएको बताए।

‘इतिहासमा खेलेको गौरवशाली भूमिकालाई कसैले बिर्सिन्छ भने उसले नयाँ इतिहास निर्माण गर्न सक्दैन,’ उनले भने, ‘आफ्ना पुर्खाहरूले खेलेको भूमिकाको जसले सम्मान गर्न सक्दैन भने उसले सम्मानजनक कृति पनि कायम गर्न सक्दैन।’

उनले राजनीतिक दलहरूले आफूबाट भएका कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताए। काम गर्ने क्रममा कमीकमजोरी हुन सक्ने भन्दै त्यसबाट आत्तिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ। नेपालले नेकपा राष्ट्रियताप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै राष्ट्रिय हितमा आघात पुग्ने वा देशको स्वाभिमानमा आँच आउने काम भए पार्टी चुप लागेर नबस्ने बताए।

‘हाम्रो राष्ट्रिय हितमाथि कुनै किसिमले पनि आघात पुर्‍याउने काम हुन्छ, देशको स्वाभिमानमा आँच पुर्‍याउने काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ उनले भने।

राष्ट्रियता महत्वपूर्ण मुद्दा भएकाले जनतामा चेतना र जागरण पैदा गर्न अभियानमा यसलाई उच्च प्राथमिकता दिइएको उनले स्पष्ट पारे । नेपालले राष्ट्रियतासँगै संविधानको रक्षा र राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिको संस्थागत विकासलाई पनि अभियानको महत्वपूर्ण उद्देश्यका रूपमा प्रस्तुत गरे।

जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न संविधान निर्माण गरिएको उल्लेख गर्दै उनले संविधानको रक्षा गर्नु पार्टीको जिम्मेवारी भएको बताए।

लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेशिताको नीतिको संस्थागत कार्यान्वयन र जनताको हितको संरक्षणमा संविधानको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने संविधानको रक्षा गर्ने सन्देश पनि हामीले दिन चाहेका छौँ,’ नेपालले भने।

उनले संविधानको रक्षा र जनताको हित संरक्षणका विषयमा जनतामाझ स्पष्ट सन्देश पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए। राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षालाई केन्द्रमा राखेर जनतामा राजनीतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

प्रतिक्रिया

Selected poll is not defined.