काठमाण्डौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली कांग्रेसको महाधिवेशन ०८३ मंसिरदेखि माघभित्र हुने बताएका छन्।
राजधानीबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा दिएको अन्तरवार्तामा महरले लामो समयदेखि कांग्रेस केन्द्रीय समितिको बैठक बस्न सकिरहेको छैन भन्दै पार्टीको नेतृत्वमा असहमतिका स्वरहरू व्यक्त गरे। उनले कांग्रेसको इतिहास र परम्पराअनुसार चारवर्षे केन्द्रीय समितिको पदावधि एक वर्ष विधानतः थप्न मिल्ने बताउँदै, त्यसपछि विशेष परिस्थितिमा थप ६ महिना थप्न सकिने कुरा स्पष्ट गरे। उनले भने, “त्यसबाहेक थप समयको कल्पना गर्न सकिन्न। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले समयमै महाधिवेशन गराएन भने ऊ र अन्य कम्युनिस्ट पार्टीबीच के नै भिन्नता भयो र?”
महरले पार्टीको वर्तमान सभापति लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएका व्यक्तिका रूपमा महाधिवेशन सार्ने सोचमा हुनुहुन्न भन्ने आशय व्यक्त गरे र आगामी महाधिवेशन मंसिरदेखि माघभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे।
पार्टीको सयदिने अभियानमा सरकारमा कांग्रेसले आफ्नो ओजअनुसार भूमिका निभाउन नसकेको बताउँदै महरले सरकार जनजीविकाका सवालमा धेरै ठाउँमा चुकेको प्रश्न उठाए। उनले थपे, “महाधिवेशन ढिला हुँदा लोकतान्त्रिक पार्टीको लोकतान्त्रिक चरित्रमाथि नै असर पारिरहेको छ।”
महरले पार्टी महाधिवेशनको लागि केन्द्रीय पदाधिकारीहरू उदासिन रहेको बताए। उनले भने, “१० महिनापछि पार्टीको १५औं महाधिवेशन हुँदै छ, तर त्यसका लागि गर्नुपर्ने सक्रिय सदस्यता वितरण निकै सुस्त छ।”
आफू आगामी महाधिवेशनमा पार्टी नेतृत्व या पदाधिकारीमा उठ्ने दाबी गर्ने नेताहरूको गृहजिल्ला र निर्वाचन क्षेत्रमा समेत विवाद रहेको भन्दै महरले टुंग्याउन खासै पहल नभएको समेत उल्लेख गरे। उनले केन्द्रीय कार्यालयमा पार्टी नेतृत्व र पदाधिकारीको उपस्थिति पनि उत्साहजनक नदेखिएको बताए।
प्रतिक्रिया