काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई आगामी संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने तयारीसँगै सरकारले प्रतियोगितामा सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ।
एनपीएलको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री बालेन शाहले नेपाली क्रिकेटको व्यावसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न आवश्यक खेल पूर्वाधार निर्माण गरिने बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार नेपाल सरकारअन्तर्गतको पूर्वाधार विकास मन्त्रालयमार्फत आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु क्रिकेट मैदान निर्माण तथा स्तरोन्नति गरिनेछ। सुदूरपश्चिम रोयल्सको घरेलु मैदानका रूपमा रहने फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिएका छन्।
उनले आगामी तीन महिनाभित्र बाँकी सातवटा रंगशालाको निर्माण प्रक्रिया पनि अगाडि बढाइने स्पष्ट पारेका छन्।
सरकारको योजनाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला निर्माण गरिनेछ।
त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई सम्बन्धित टोलीको घरेलु मैदानका रूपमा विकास गर्ने सरकारको योजना छ।
प्रस्तावित योजनाअनुसार सबै रंगशालामा फ्लडलाइट जडान गरिनेछ। यसले रातिको समयमा समेत क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सहज बनाउनुका साथै एनपीएललाई देशका विभिन्न सहरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आठवटै टोलीले आफ्नै घरेलु मैदान पाएपछि प्रतियोगितामा स्थानीय समर्थकको सहभागिता बढ्ने, विभिन्न सहरमा खेलकुद गतिविधि विस्तार हुने र नेपाली क्रिकेटको व्यावसायिक वातावरण थप बलियो बन्ने विश्वास गरिएको छ।
‘होम एन्ड अवे’ प्रणाली कार्यान्वयनमा आएपछि एनपीएल केवल प्रतियोगितामा सीमित नभई देशभर क्रिकेटको लोकप्रियता, खेल पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया