बालुवाटार। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले संघका राष्ट्रिय समितिहरूसँग छलफल सम्पन्न गरे लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विश्वभरका संघका शाखाका पदाधिकारीहरूको बैठक आब्हान गरेका छन्।
गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य चिरन शर्माका अनुसार, राष्ट्रिय समितिमा सदस्यता वितरण, क्षेत्रीय सम्मेलनलगायत मुख्य अजेण्डामा छलफल गर्न संघले सो बैठक बोलाएको हो। बैठकमा राष्ट्रिय समितिका पदाधिकारी र अन्तर्राष्ट्रिय परिषद्का पदाधिकारीहरूको सहभागीता रहने छ।
गत सोमबार संघका पूर्वअध्यक्ष शेष घलेले मे महिनामा एकता अधिवेशन गर्ने र मार्च महिनामा राष्ट्रिय महाधिवेशन गर्ने भन्ने प्रस्ताव अस्वीकार गरेपछि संस्थापन पक्षले उनीहरूसँग थप छलफल गर्न लागेको हो।
यसअघि गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले एक आन्तरिक सर्कुलर जारी गर्दै सो बैठकको बारेमा राष्ट्रिय समितिहरूलाई जानकारी गराएका थिए।
संघले मध्यपूर्व र अफ्रीकामा रहेका राष्ट्रिय समितिको बैठक फेब्रुअरी १ तारिख, एशिया र ओसेनिया क्षेत्रका राष्ट्रिय समितिको बैठक फेब्रुअरी २ तारिख र यूरोप र अमेरिका क्षेत्रका राष्ट्रिय समितिको बैठक फेब्रुअरी २ तारिख गर्ने तयारी गरेको छ। गैरआवासीय नेपाली संघको एशिया क्षेत्रीय बैठक आगामी मार्च महिनामा कम्बोडिया र यूरोप क्षेत्रीय सम्मेलन माल्टामा गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया