डा. बद्री केसीको कार्यसमितिमा ८० प्रतिशत कांग्रेस समर्थक छन् : डा. हेमराज शर्मा, उपाध्यक्ष एनआरएनए

  नेपाली सन्देश डट कम | १ असार २०८२, आईतवार २२:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको वर्तमान कार्यसमिति समावेशी रहेको दाबी गरेका छन्।

प्रवासी नेपाली मञ्च बेलायतको ९औं महाधिवेशनलाई आइतबार लेस्टरमा सम्बोधन गर्दै डा. शर्माले अध्यक्ष डा. बद्री केसी नेतृत्वको कार्यसमिति एमाले निकट रहेको भन्ने आरोप निराधार भएको बताए।

उनले भने, “डा. बद्री केसीको नेतृत्वमा रहेको कार्यसमितिमा ८० प्रतिशत लोकतन्त्रवादी (कांग्रेस निकट) छन्। त्यसैले यसलाई एमालेको कार्यसमिति भन्नु तथ्यहीन र भ्रामक हो।”

डा. शर्माले गैरआवासीय नेपाली संघ स्थापना कालदेखि नै नागरिकताको सवालमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भने, “तर अहिलेसम्म पनि नागरिकता दुई वर्षे भिसामा सीमित छ। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा आधारित नागरिकताको सुनिश्चितता आवश्यक छ।”

विदेशमा रहेका नेपाली र नेपालमा रहेका नेतृत्वबीच दृष्टिकोणमा सकारात्मक परिवर्तनको आवश्यकता औंल्याउँदै उनले विदेशमा अध्ययनरत नयाँ पुस्तालाई राज्यसँग जोड्न विशेष नीति आवश्यक रहेको धारणा राखे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले भूराजनीतिक द्वन्द्वका कारण नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू प्रभावित भएको बताए।

उनले भने, “आज पोखरा र भैरहवामा विमानस्थल किन बनाइयो भन्ने प्रश्न उठाइन्छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा पर्यटकको संख्या ४ लाख थियो, अहिले त्यो १२ लाख पुगेको छ। के यो प्रगति होइन?”

पोखरेलले भूराजनीतिक कारणले विमानस्थल सञ्चालनमा अवरोध आएको उल्लेख गरे। उनले गाउँगाउँमा ६७ हजार किलोमिटर सडक सञ्जाल पुगेको र यसले जनतामा सकारात्मक सन्देश पुर्‍याएको बताए।

उनले विद्यालय शिक्षामा लैङ्गिक विभेद हटेको, मातृ मृत्युदरमा कमी आएको लगायत सूचकहरूले देशमा प्रगति भैरहेको प्रमाणित गरेको बताए। साथै, जलविद्युत् क्षेत्रमा एमालेको पालामा उल्लेख्य प्रगति भएको दाबी गरे।

कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले दूतावासको सेवा लन्डनमा सीमित नराखी स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसम्म विस्तार गर्ने प्रयास भइरहेको जानकारी दिए।

उनले दूतावासको नेतृत्व लिएपछि भएका गतिविधिहरूको संक्षिप्त विवरण दिँदै एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) वृद्धि गरी नेपालको समृद्धि हासिल गर्नुपर्ने बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रवासी मञ्चका अध्यक्ष संजय थापा, राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका अध्यक्ष पवन शर्मा, सरस्वती केसी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?