रुखमा अड्याएर हात पछाडि डोरीले बाँधे । उहाँ आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे । टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरे ।
२०५८ भदौतिर लमजुङ्ग दुराडाँडा पाणिनी संस्कृत माविका तत्कालीन प्रधानाध्यापक नवकुमार अधिकारी विस्थापित भए । अब विद्यालयको प्रधानाध्यापकको कार्यभार मुक्तिनाथ अधिकारीको काँधमा आइप-यो। उनी प्रधानाध्यापकसँगै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलका स्थानीय सम्पर्क व्यक्ति पनि थिए ।
२०५८ दसैंमा माओवादीहरू विद्यालयमा आएर सबै शिक्षकहरूको २५ प्रतिशत तलब जम्मा पारेर चन्दा दिन प्रधानाध्यापक अधिकारीलाई निर्देशन दिए ।
लगत्तै मुक्तिनाथले विद्यालयको वैठक बोलाएर चन्दाको विषयमा माओवादीवाट आएको प्रस्ताव र चिठीबारे छलफल गराए । विद्यालयमा चन्दा नदिने सल्लाह भयो । दसैंको सप्तमीका दिन माओवादीहरू घरैमा आए, तर अधिकारीले विद्यालयमा वैठक बस्दा चन्दा दिन नसकिने निर्णय भएको र आफू त्यसभन्दा पर जान नसकिने जानकारी गराए ।
२०५८ माघ ३ गते दिउँसो चन्द्रपाटातिरबाट १०–१२ नकाबधारी माओवादीहरू पाणिनी स्कुलतिर झरे । विद्यालयमा पुगेर ‘हेडसर खै ?’ भनेर सोधे। कार्यालयमा रहेका शिक्षकले ‘कक्षामा पढाइरहनुभएको छ’ भनेपछि त्यतै लागे र ‘भित्र आउन सक्छु’ भनेर सोधे । अधिकारीले ‘म कक्षा लिँदै छु, एकछिनमा सकिएपछि कुरा गरौंला नि’ भनेर जवाफ दिए ।
तर उनीहरू जबर्जस्ती कक्षाकोठामा पसे। शिक्षक अधिकारीको हात समातेर पछाडि डोरीले बाँधे। बल लगाएर बाहिर निकाले। विद्यार्थीहरू रुन थाले, होहल्ला सुरु भयो, अरू कक्षाका विद्यार्थी र शिक्षकसमेत जम्मा भए। शिक्षक र विद्यार्थीले विरोध गरे। शिक्षक र विद्यार्थीले घेरा हालेपछि माओवादीले ‘तपाईंहरूको सरलाई केही गर्दैनौं, केही कुरा गर्नु छ, एकछिन कुरा गरेर फर्काइदिन्छौ’ भनेर आश्वासन दिए ।
आफ्नै घरनजिकैको ठाडो गल्लीबाट शिक्षक मुक्तिनाथलाई चन्द्रपाटातिर लगियो । सर्वोदय माध्यमिक विद्यालयमा हाफछुट्टी थियो । ‘च्यानपाटामा पिङ हाल्ने स्थानमा अड्याएर यो डाडाँमा कारबाही गर्नुपर्ने ७ जना फटाहा छन, यो पहिलो कारबाही हो भन्ने भाषण गरे ।
‘गाउँको बीचमा नजिकैको रूखमा बाँधेर हत्या गर्न खोजे, विरोध भएपछि नजिकै बस्ती नभएको स्थानमा लगे । गराको डिलमा रहेको उतिसको रुखमा अड्याएर हात पछाडि डोरीले बाँधे । उहाँ आफैंले लगाएको गलबन्दीले घाँटी कसेर बाँधे । टाउकोमा गोली हाने, छाती र पेटमा चुपी धसेर हत्या गरे ।
तर देशमा लोकतन्त्र स्थापना भएको यतिका वर्ष वित्दा पनि त पिडीतले न्याय पाएका छन्, न अपराधी माथि कारवाही भएको छ ।
– बिन्दुकान्त घिमिरे
प्रतिक्रिया