सरकारले ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भने पनि धादिङका सरकारी स्वास्थ्य संस्थाहरुले शुल्क लिएको पाइएको छ। सरकारी स्वास्थ्य संस्थाहरुले टाउको दुखेको औषधिमा समेत शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।
नीलकण्ठ नगरपालिका–३ का गणेश बुढाथोकी धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधिमा शुल्क असुल्ने गरेको बताए। ‘कहिले शुल्क लिन्छन्, कहिले औषधि छैन भन्छन्। कर्मचारीको मनलाग्दि हो कि प्रशासनको आदेश ? सरकार निःशुल्क औषधि देऊ भन्छ, त्यहि औषधिलाई अस्पताल पैसा असुल्छ,’ उनले भने, ‘हिलोले खाएको ठाउँमा लगाउने औषधि पहिले निःशुल्क लैजान्थें। अहिले दुईवटा औषधिको एक हजार ५५ भन्यो।’
सरकारले निःशुल्क गरेको औषधिलाई सरकारी अस्पतालले नै शुल्क लिएपछि उनले बाहिरैबाट सो औषधि किने। ‘पहिले दुई पटकसम्म निशुल्क लिएको औषधि अहिले कसरी शुल्क लाग्ने भयो ? सरकारले ९८ प्रकारका औषधि निशुल्क दिने भनेको छ । तर धादिङ अस्पतालले यसरी शुल्क लिनु गलत हो,’ उनले भने।
नीलकण्ठ– ३ कै सीता तामाङ पनि निःशुल्क पाइने औषधिलाई धादिङ अस्पतालले पैसा लिएको बताउँछिन्। ‘मुखमा घाउ आएर अस्पताल गएको थिएँ,’ उनले भनिन्, ‘अस्पताल फार्मेसी नजिकै ९८ प्रकारका निःशुल्क औषधि हेर्दा भिटामिन बी कम्प्लेक्स पनि रहेछ। तर अस्पतालले एक पाताको ४५ रुपैयाँ लियो। दम, टिडी, टिटीलगायत अन्य थुप्रै औषधिको पनि पैसा लिन्छ।’
औषधि माग्दा फार्मेसीले शुल्क लाग्ने औषधि नै दिने गरेका छन्। ‘निःशुल्क त व्यानर र पर्दामा सिमित छ । औषधिको नाममा सर्वसाधारण ठगिएका छन्,’ उनले भनिन्, ‘निशुल्क र शुल्क लिने औषधि एकै ठाउँबाट विक्री वितरण भइरहेको छ । बिल पनि नमागी दिँदैन । धेरैलाई कुन पैसा लाग्ने, कुन नलाग्ने थाहा नै हुँदैन । पैसा मागे दिने हो, पर्दैन भने ए निशुल्क रहेछ भन्ने घर फर्कने हो।’
विमा गरेकाहरुले निःशुल्क पाउने औषधिसमेत नपाएको सेवाग्राहीको गुनासो छ। अस्पतालले एकै ठाउँबाट निःशुल्क र सःशुल्क औषधि विक्री वितरण गर्दा सेवाग्राहीहरु मारमा परेका हुन्।
अर्का सेवाग्राही मननारायण श्रेष्ठले अस्पतालमा एक साता बिताए । दमको रोगी आमाको उपचारमा आएका उनले निःशुल्क र शुल्क लाग्ने औषधिको विषयमा जानकारी नभएको बताए। ‘कुन औषधि निःशुल्क, कुनलाई पैसा परेको थाहा नै भएन,’ श्रेष्ठले भने, ‘अस्पतालले निःशुल्क औषधि दिन्छ भन्ने थाहा थिएन।’ उनले स्वास्थ्य बिमा समेत गरेका छन्। उनले भने, ‘निःशुल्क र विमा गरेकालाई औषधि वितरण भनेर टाँसिएको झ्यालै बन्द छ।’
निःशुल्क औषधिमा पैसा लिएकाे छैन : मेसु भण्डारी
सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क वितरण भइरहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रुद्रमणि भण्डारीको जिकिर छ। निःशुल्क भनिएका प्लेन औषधिबाहेकको अन्य औषधिको मात्र शुल्क लिने गरिएको उनले बताए।
‘अहिले मानिसहरुले जथाभावी औषधि सेवन गरिदिँदा निःशुल्क भनिएको ९८ प्रकारका औषधिले काम नगर्ने अवस्था पनि आउन सक्छ। त्यसैले प्लेन औषधि भन्दा पनि कम्बिनेशन औषधि बिक्रि भइरहका छन्,’ उनले भने, ‘प्लेन औषधि निशुल्क हो। तर प्लेन औषधिमा अन्य कुनै औषधि थपिएको कम्बिनेशन हो भने पैसा तिर्नुपर्छ। किनकी हामीले पनि टेण्डर गरेर ल्याउनुपर्छ।’
निःशुल्क र शुल्क लाग्ने सबै औषधि किन एकै ठाउँबाट विक्री वितरण भन्ने प्रश्नमा उनले भने, ‘१५ बेड क्षमताको अस्पताल ५० बेडमा सञ्चालन भइरहेको छ। अन्य विशेषज्ञसहितको सेवाहरु पनि विस्तार भएका छन्। दरबन्दिअनुसार पदपूर्ति छैन । कर्मचारी अभाव र स्टोरका कारण निःशुल्क, विमा र शुल्क लाग्ने औषधि एकै ठाउँबाट विक्रि गरिएको हो।’नयाँ पत्रिकाबाट
प्रतिक्रिया