एकमहिने कार्ययोजनासहित एनआरएनए अध्यक्ष डा. शर्मा नेपालमा रहने

  नेपाली सन्देश डट कम | १५ मंसिर २०८३, सोमबार ०१:२५

मध्यपूर्व सम्मेलनको तयारी निरीक्षण गर्न कतारमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष डा. हेमराज शर्मा संघका गतिविधिलाई थप सक्रिय, प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यसहित एकमहिने कार्ययोजना लिएर नेपाल आएका छन्। नेपाल बसाइका क्रममा उनले विभिन्न सम्मेलनको तयारी, संगठनात्मक गतिविधि तथा प्रवासी नेपालीका सवालमा केन्द्रित रहेर काम गर्ने भएका छन्।

डा. शर्मा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एनआरएनए खेलाडीहरूको हौसला बढाउन सुर्खेत पुग्ने कार्यक्रमसमेत रहेको छ। त्यसैगरी, स्वास्थ्य सम्मेलन, मध्यपूर्व क्षेत्रीय सम्मेलन, महिला सम्मेलन, दोस्रो पुस्ता सम्मेलन तथा विज्ञ सम्मेलनको तयारीलाई तीव्रता दिन उनले आवश्यक समन्वय र छलफल गर्ने जनाइएको छ।

यसैक्रममा आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलनको तयारी निरीक्षण तथा आवश्यक समन्वयका लागि अध्यक्ष शर्मा कतार आइपुगेका छन्।

कतार आगमनपछि शर्माले सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिने उद्देश्यले नेपाली राजदूतावाससँग भेटघाट तथा छलफल गरेका छन्। भेटमा सम्मेलनको तयारी, दूतावाससँगको समन्वय, नेपाली समुदायको सहभागिता तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका साझा सवाललगायतका विषयमा छलफल भएको बताइएको छ।

त्यसैगरी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको अगुवाइमा कतारमा क्रियाशील नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा एनआरएनए अभियानकर्मीसँग अध्यक्ष शर्माको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ।

नोभेम्बर २९ (आज) साँझ दोहाको मुन्तजा इस्टेटस्थित गोर्खाली रेस्टुरेन्टमा हुने कार्यक्रममा सम्मेलनको तयारी, नेपाली समुदायको सहभागिता तथा एनआरएनएको आगामी भूमिकाबारे छलफल हुने एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले जानकारी दिएका छन्।

यसैबीच, एनआरएनए आईसीसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमानले अध्यक्ष शर्माको कतार आगमनदेखि स्वागत, भेटघाट तथा समन्वयका कार्यक्रमहरूमा सहजीकरण गरिरहेका छन्। उनले सम्मेलनको तयारीका क्रममा हालसम्म भएका गतिविधि, प्रगति तथा व्यवस्थापकीय अवस्थाबारे अध्यक्ष शर्मालाई जानकारी गराइसकेको बताएका छन्। कतारस्थित नेपाली समुदायका सरोकारवाला तथा अभियन्ताहरूसँग आवश्यक भेटघाट र समन्वयका लागि पनि सहजीकरण भइरहेको उनले जनाएका छन्।

‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको सम्मेलनमा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी, श्रमिक अधिकार, सामाजिक सुरक्षा, उद्धार तथा राहत, लगानी प्रवर्द्धन र प्रवासी नेपालीका साझा सरोकारका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ।

सम्मेलनको तयारीका लागि मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठको नेतृत्वमा विभिन्न समिति तथा उपसमितिहरू परिचालित छन्। मिडिया व्यवस्थापन, अतिथि सत्कार, आवास, यातायात, आर्थिक व्यवस्थापन, प्रायोजन तथा कार्यक्रम सञ्चालनलगायतका पक्षमा तयारी अघि बढाइएको आयोजकले जनाएका छन्।

यसअघि अक्टोबर ३० मा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन आयोजना गरी सम्मेलनको उद्देश्य, तयारी र प्राथमिकताबारे जानकारी गराइएको थियो। त्यसयता आयोजक समिति, एनसीसी कतार तथा विभिन्न सामाजिक संघसंस्थाबीच आवश्यक समन्वय र सहकार्यका गतिविधि निरन्तर जारी छन्।

मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका समस्या र सम्भावनालाई साझा मञ्चमार्फत उठान गर्ने उद्देश्यले आयोजना हुन लागेको सम्मेलनलाई सहभागितामूलक र परिणाममुखी बनाउन आयोजकहरू जुटिरहेका छन्।

एकमहिने नेपाल बसाइ र मध्यपूर्व सम्मेलनको तयारीलाई सँगसँगै अघि बढाएका अध्यक्ष शर्माको सक्रियताले एनआरएनएको संगठनात्मक गतिविधि तथा प्रवासी नेपालीका सवाललाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.