एनआरएनए अध्यक्ष डा. हेमराज शर्मालाई भ्याइनभ्याई, पाँच महिनाभित्र सात सम्मेलनको तयारी

  नेपाली सन्देश डट कम | ९ मंसिर २०८३, मंगलवार ०८:३८

टोरोन्टो। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पाँच महिनाभित्र सातवटा अन्तर्राष्ट्रिय सम्मेलन तथा महत्वपूर्ण कार्यक्रम आयोजना गर्ने तयारी तीव्र पारेको छ। संघका अध्यक्ष डा. हेमराज शर्माको सक्रिय नेतृत्वमा विभिन्न देश तथा नेपालका प्रमुख सहरमा आयोजना हुने सम्मेलनहरूको तयारी एकैसाथ अघि बढाइएको हो।

संघको नोभेम्बर २२, २०२६ मा सम्पन्न ११८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले आगामी कार्यक्रमहरूको कार्ययोजना तय गर्दै आवश्यक समन्वय, व्यवस्थापन, स्रोत परिचालन तथा सहभागिता विस्तार गर्ने निर्णय गरेको छ। अध्यक्ष डा. शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गर्नुभएको थियो। बैठकमा विश्वभरबाट आईसीसीका पदाधिकारी, सदस्य, सल्लाहकार तथा राष्ट्रिय समन्वय परिषद्का आमन्त्रित अध्यक्षहरूको सहभागिता रहेको थियो।

बैठकले डिसेम्बर २ देखि १५, २०२६ सम्म सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको सहभागिता तथा सहयोग सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ। त्यसैगरी, डिसेम्बर ४ र ५ मा जनकपुरमा छैटौँ गैरआवासीय नेपाली स्वास्थ्य सम्मेलन आयोजना हुनेछ। डिसेम्बर ११ र १२ मा नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनसँगै प्रथम गैरआवासीय नेपाली विश्व श्रम सम्मेलन आयोजना गर्ने तयारी पनि अघि बढाइएको छ।

यसैगरी, जनवरी २ देखि ४, २०२७ सम्म प्रथम गैरआवासीय नेपाली दोस्रो पुस्ताको विश्व सम्मेलन, प्रथम गैरआवासीय नेपाली महिला विश्व सम्मेलन तथा चौथो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन आयोजना गरिने भएको छ। जनवरी ७ मा दोस्रो नेपाली साहित्य गोष्ठी तथा सम्मेलन आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ। यी कार्यक्रमलाई सफल बनाउन प्रायोजन जुटाउने, विश्वभर रहेका गैरआवासीय नेपालीको सक्रिय सहभागिता सुनिश्चित गर्ने र विभिन्न क्षेत्रबाट आवश्यक सहयोग परिचालन गर्ने रणनीति तय गरिएको छ।

एकै अवधिमा सातवटा महत्वपूर्ण कार्यक्रमको तयारी अघि बढेसँगै अध्यक्ष डा. शर्माको व्यस्तता पनि बढेको छ। विभिन्न सम्मेलनको व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरमा समन्वय, सरोकारवालासँगको सहकार्य र स्रोत परिचालनमा उनी सक्रिय देखिएका छन्। यसैक्रममा उनले पोल्याण्डमा आयोजना हुने कार्यक्रममा समेत सम्बोधन गर्ने तयारी गरेका छन्।

११८औँ आईसीसी बैठकले सम्मेलन आयोजनासँगै संघको संस्थागत तथा सांगठनिक सुदृढीकरणका विषयलाई पनि प्राथमिकता दिएको छ। संघको विधान संशोधन तथा आवश्यक परिमार्जनका लागि महासचिव डा. चिरञ्जीवी खड्काको संयोजकत्वमा विधान संशोधन सुझाव समिति गठन गरिएको छ। समितिमा संघका पूर्वअध्यक्ष, पूर्वमहासचिव, पूर्वपदाधिकारी तथा वर्तमान उपमहासचिवहरूलाई समेटिएको छ। जनवरी ६, २०२७ मा भर्चुअल माध्यमबाट आयोजना हुने अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीसँगै विधान संशोधनको प्रक्रिया अघि बढाइने भएको छ।

त्यसैगरी, संघको संस्थागत मर्यादा, अनुशासन र आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउन रतन झा, सपिला राज भण्डारी, मन केसी, डा. देवी बस्नेत र डा. देवकाजी डंगोल सम्मिलित अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ।

बैठकले रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण योजनामाथि समेत छलफल गरेको छ। पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने, सम्बन्धित सरकारी निकाय, साझेदार संस्था तथा सरोकारवालासँग समन्वय गर्ने र प्रस्तावित योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

विश्वभर फैलिएको नेपाली समुदायलाई संस्थागत रूपमा जोड्ने उद्देश्यसहित एनआरएनएले स्वास्थ्य, श्रम, महिला सशक्तीकरण, दोस्रो पुस्ताको सहभागिता, ज्ञान तथा साहित्यका क्षेत्रमा एकैसाथ कार्यक्रम अघि बढाउन लागेको हो। आगामी पाँच महिनालाई संघका लागि व्यस्त र महत्वपूर्ण अवधिका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Selected poll is not defined.