एनआरएनमा दोस्रो पुस्तालाई अघि सार्दै अध्यक्ष डा. शर्मा, आज पत्रकार सम्मेलन गर्ने

  नेपाली सन्देश डट कम | ७ मंसिर २०८३, आईतवार ०९:१८

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आबद्ध दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका युवालाई नेपालसँग जोड्ने र उनीहरूको ज्ञान, सीप तथा अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको पहिलो एनआरएनए दोस्रो पुस्ता ग्लोबल कन्फरेन्स–२०२७ बारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको हो।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेम राज शर्माका अनुसार पत्रकार सम्मेलन नेपाली समयअनुसार आज साँझ ५ बजे आयोजना हुनेछ। पत्रकार सम्मेलनमार्फत आगामी जनवरी २ देखि ७, २०२७ सम्म काठमाडौं र धुलिखेलमा आयोजना हुने पहिलो एनआरएनए दोस्रो पुस्ता ग्लोबल कन्फरेन्सका उद्देश्य, कार्यक्रम तथा तयारीबारे जानकारी गराइनेछ।

‘Connect | Explore | Shape’ मूल नारासहित सम्मेलन

एनआरएनएले विदेशमा जन्मिएका, हुर्किएका तथा शिक्षित दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक तथा संस्थागत विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको हो।

‘Connect | Explore | Shape’ भन्ने मूल नाराका साथ आयोजना हुने सम्मेलनले विश्वभर रहेका दोस्रो पुस्ताका गैरआवासीय नेपालीबीच सम्बन्ध विस्तार, ज्ञान तथा अनुभव आदानप्रदान र नेपालसँगको भावनात्मक एवं व्यावसायिक सम्बन्धलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

विश्वका विभिन्न मुलुकमा शिक्षा, व्यवसाय, प्रविधि, अनुसन्धान तथा व्यावसायिक क्षेत्रमा स्थापित दोस्रो पुस्ताका नेपालीहरूको ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकासमा उपयोग गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

पाँच विषयगत सत्रमा छलफल हुने

सन् २०२७ जनवरी ३ मा आयोजना हुने मुख्य सम्मेलनमा विज्ञ, युवा नेतृत्व, व्यवसायी तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सहभागितामा पाँचवटा विषयगत सत्र सञ्चालन गरिनेछन्।

पहिलो सत्रमा नेपाली भाषा, संस्कृति, पहिचान र पुस्तान्तरणका विषयमा छलफल हुनेछ। दोस्रो सत्रमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन तथा परोपकारलगायतका क्षेत्रमा दोस्रो पुस्ताको अन्तर्राष्ट्रिय ज्ञान र अनुभवलाई नेपालको विकाससँग जोड्ने विषयमा विचारविमर्श गरिनेछ।

त्यसैगरी, तेस्रो सत्रमा गैरआवासीय नेपाली नागरिकता, व्यावसायिक लाइसेन्स, नेपालमा व्यवसाय सञ्चालन तथा संस्थागत सहभागितासम्बन्धी नीतिगत चुनौती र समाधानका उपायबारे छलफल हुनेछ।

चौथो सत्रमा उद्यमशीलता, लगानी, व्यापार विस्तार तथा सीमापार व्यावसायिक सहकार्यका सम्भावना खोजिनेछ भने पाँचौं सत्रमा दोस्रो पुस्ताको विश्वव्यापी सञ्जाल निर्माण, एनआरएनएमा उनीहरूको नेतृत्वदायी सहभागिता तथा संस्थागत संरचना र विधानमा आवश्यक सुधारका विषय समेटिनेछन्।

‘डिस्कभर नेपाल’ कार्यक्रम पनि सञ्चालन हुने

मुख्य सम्मेलनसँगै सहभागीहरूलाई नेपालको मौलिक पहिचान, इतिहास, संस्कृति, पर्यटन तथा विकासका सम्भावनासँग परिचित गराउने उद्देश्यले ‘डिस्कभर नेपाल’ कार्यक्रम सञ्चालन गरिनेछ।

जनवरी २ मा काठमाडौंमा स्वागत, उद्घाटन तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम आयोजना हुनेछ। जनवरी ३ मा मुख्य सम्मेलन तथा आगामी दिनका लागि कार्ययोजना निर्माण गरिनेछ।

जनवरी ४ मा काठमाडौं, ललितपुर र भक्तपुरका ऐतिहासिक सम्पदा, दरबार क्षेत्र तथा हस्तकला केन्द्रहरूको भ्रमण गरिनेछ। जनवरी ५ मा लोकतन्त्र, सुशासन र सार्वजनिक नीतिसँग सम्बन्धित संस्थागत अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन हुनेछ।

त्यसैगरी, जनवरी ६ र ७ मा धुलिखेलमा दुई दिने ‘हिमालयन एस्केप’ कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा योग, ध्यान, प्रकृति भ्रमण, नेटवर्किङ तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको आगामी कार्यदिशा तय गर्न ‘एक्सन रोडम्याप’ निर्माण सत्र सञ्चालन गरिनेछ। जनवरी ७ को साँझ काठमाडौंमा सांगीतिक कार्यक्रम तथा रात्रिभोजसहित सम्मेलन समापन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार सम्मेलनले विदेशमा हुर्किएको दोस्रो पुस्तालाई नेपालको भाषा, संस्कृति र पहिचानसँग जोड्नुका साथै उनीहरूको ज्ञान, सीप, प्रविधि, पुँजी तथा अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको राष्ट्रिय विकासमा उपयोग गर्ने अवसर प्रदान गर्नेछ।

सम्मेलनबाट प्राप्त सुझाव तथा निष्कर्षलाई दीर्घकालीन सहकार्य र कार्ययोजनामा रूपान्तरण गर्ने लक्ष्यसमेत राखिएको छ। साथै, दोस्रो पुस्तालाई एनआरएनएको मूलधारमा सहभागी गराउँदै उनीहरूको नेतृत्व विकास र संस्थागत सहभागिता विस्तार गर्न सम्मेलन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

आयोजकले सम्मेलन सफल बनाउन नेपाल सरकारका सम्बन्धित निकाय, सरोकारवाला संघ–संस्था, सञ्चारकर्मी, एनआरएनएका राष्ट्रिय समन्वय परिषद्, पदाधिकारी, सदस्य तथा सम्पूर्ण शुभेच्छुकसँग सहयोग र सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

Selected poll is not defined.