काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
शाहीले पार्टीलाई गुट–उपगुटको राजनीतिबाट मुक्त गर्दै नयाँ पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्ने बताए। उनले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बताए।
शाहीले राप्रपा अब सीमित सिट जितेर कहिले एमाले, कहिले माओवादी र कहिले कांग्रेससँग सत्ता तथा राजनीतिक बार्गेनिङ गर्ने पार्टीका रूपमा सीमित हुन नहुने बताए।
उनले भने, ‘राप्रपा अब सिन्डिकेट, लास र दासको पार्टी बन्नु हुँदैन। यो राष्ट्रवादीहरूको शक्ति र युवाहरूको जोसका साथ अगाडि बढ्नुपर्छ। त्यसैले गुट र उपगुटभन्दा माथि उठेर पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गर्दछु । शाहीले पार्टीभित्र नेतृत्व परिवर्तन र पुस्तान्तरण हुन नसके आगामी प्रतिनिधिसभा तथा स्थानीय तहको निर्वाचनमा गम्भीर चुनौती सामना गर्नुपर्ने चेतावनी दिए। पुरानै नेतृत्व र गुटगत सोचमा पार्टी अघि बढे जनताको विश्वास जित्न कठिन हुने उनको भनाइ छ।
उनले पार्टीको नेतृत्वमा को आउने भन्ने विषयभन्दा पनि जनताले पार्टी र त्यसको विचारलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताए।
राप्रपा राष्ट्रिय पार्टी बन्नुमा देशभरका नेता, कार्यकर्ता तथा समर्थकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले निर्वाचनका क्रममा विभिन्न चुनौती र अपमान सहेर पनि पार्टीका पक्षमा मतदान गर्ने कार्यकर्ताप्रति आभार व्यक्त गरे । शाहीले पार्टीका शीर्ष नेताहरूको अनुभव र योगदानलाई सम्मान गर्दै उनीहरूलाई अभिभावकीय भूमिकामा राख्नुपर्ने प्रस्तावसमेत अघि सारे। पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलगायत वरिष्ठ नेताहरूलाई सक्रिय प्रतिस्पर्धात्मक नेतृत्वभन्दा माथि सर्वोच्च अभिभावकीय नेताका रूपमा राखेर नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने बताए।
उनले भने हामीले पार्टीभित्र पुस्तान्तरण गर्न सकेनौँ भने पार्टीको भविष्य छैन। पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्छ’।
राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौंमा हुँदैछ।
प्रतिक्रिया