काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनको तयारी तीव्र पारिएको छ। आगामी २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोमा आयोजना हुने सम्मेलनलाई उपलब्धिमूलक र परिणाममुखी बनाउने लक्ष्यसहित आयोजक पक्षले तयारीलाई व्यापक बनाएको हो।
‘समृद्धि : Connecting for Prosperity’ नारासहित आयोजना हुने सम्मेलनको तयारीको नेतृत्व अमेरिकाज क्षेत्रीय संयोजक (आरसी) भुवन खरेलको टिमले गरिरहेका छन्। सम्मेलनलाई केवल औपचारिक भेला वा नियमित संस्थागत कार्यक्रमका रूपमा नभई विश्वभर छरिएका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने खरेलको तयारी छ।
खरेलले अमेरिकाज क्षेत्रसहित विश्वभर रहेका एनआरएनए अभियन्ता, नेपाली समुदाय, व्यवसायी, विज्ञ, युवा तथा दोस्रो पुस्ताका नेपालीलाई सम्मेलनमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनका अनुसार सम्मेलनको सफलता सहभागिताको संख्यामा मात्र नभई त्यसबाट उठाइने विषय र त्यसको कार्यान्वयनमा निर्भर हुनेछ।
सम्मेलनका लागि मूल तयारी समिति गठन भइसकेको छ। आर्थिक व्यवस्थापन, सूचना प्रविधि, प्रचारप्रसार, अतिथि सत्कार तथा व्यवस्थापनलगायतका क्षेत्रमा छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरेर तयारीलाई अघि बढाइएको छ। आयोजक पक्षले सम्मेलनमा अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय परिषद्, एनआरएनए अभियन्ता, व्यवसायी, विज्ञ तथा नेपाली समुदायको उल्लेख्य सहभागिता गराउने तयारी गरेको छ।
खरेलको प्राथमिकतामा सम्मेलनको सबैभन्दा महत्वपूर्ण विषय नेपालको आर्थिक समृद्धिसँग प्रवासी नेपालीको प्रत्यक्ष सहभागिता हो। विदेशमा रहेका नेपालीको पुँजी नेपालमा भित्र्याउने, लगानीको वातावरण सुधार गर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने र त्यसबाट रोजगारी सिर्जना गर्ने विषयलाई सम्मेलनको मूल बहसमा ल्याउने तयारी गरिएको छ।
सम्मेलनमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी तथा सहकार्यको सम्भावनालाई समेत प्राथमिकतामा राखिने भएको छ। गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न खोज्दा देखिने नीतिगत, प्रशासनिक तथा कानुनी जटिलता पहिचान गर्दै समाधानका लागि सरकार र निजी क्षेत्रसँग संवाद गर्ने तयारी छ।
खरेलको दृष्टिमा प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा हेर्ने परम्परागत सोच बदलिनुपर्छ। उनीहरू लगानीकर्ता, उद्यमी, प्राविधिक, विज्ञ र विकास साझेदारका रूपमा नेपालसँग जोडिनुपर्ने उनको धारणा छ।
प्रतिक्रिया